विश्व

फिलिपिन्सद्वारा एकतर्फी युद्धविराम भङ्ग

मनिला–  फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले आन्दोलनरत वामपन्थी विद्रोहीसँग सरकारले गरेको एकपक्षीय युद्धविराम भङ्ग भएको घोषणा गरेका छन् । उनले युद्धविराम भंग भएको जनाउँदै सुरक्षाकर्मीलाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएका छन् । राष्ट्रपति रोड्रिगोले एक वक्तव्य जारी गरी आन्दोलनरत कम्युनिस्ट विद्रोहीप्रति लक्षित गरी सरकारी पक्षबाट यही जुलाई २५ मा घोषणा गरेको एकपक्षीय युद्धविरामको आदेश हटाइएको जानकारी गराउँछु भनेका छन् ।

राष्ट्रपतिले विद्रोहीे कम्युनिस्ट पार्टी अफ फिलिपिन्स पिपुल्स आर्मी नेसनल डेमोक्रेटिक फ्रन्ट (सिपिपी–एनपिए–एनडिएफ) लाई युद्धविराम गरी वार्तामा आउन दिएको समयसीमा सकिएको र शनिबारसम्म पनि विद्रोहीद्वारा वार्ताका लागि पहल अघि नबढाएपछि युद्धविरामको अन्त्य भएको घोषणा गरेका हुन् ।
विद्रोहीले राष्ट्रपतिले वामपन्थी विद्रोहीसँग गरेको एकपक्षीय युद्धविराम घोषणा भएको दुई दिनपछि विद्रोहीले वार्ता पहल गर्नुको सट्टा उल्टै फिलिपिन्सको दक्षिणी प्रान्त देवाओ डेल नर्टीमा सरकारको एक अर्धसैनिक समूहलाई आक्रमण गरेका र आक्रमणमा चार सुरक्षाकर्मी घाइते भएका थिए । घटनामा एक जना विद्रोहीको मृत्यु भएको थियो ।

१६ साउन २०७३ ।