विश्व

कारबम विस्फोटमा ५२ को ज्यान गयो

एजेन्सी–  कुर्दिसहरुको बलियो प्रभाव रहेको सिरियाको उत्तरपूर्र्वी सहरमा दुई वटा बम आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ ।
यस आक्रमणमा १७० भन्दाबढी घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक भएको हुनाले मृतक सङ्ख्या अझै बढ्न सक्ने सरकारी स्रोतले जानकारी दिएको छ ।
टर्कीको सीमा क्षेत्रनजिकै रहेको कमिसली सरहमा सो कारबम आक्रमण भएको जनाइएको छ । स्थानीय टेलिभिजन च्यानल समाकाअनुसार यस आक्रमणकोे जिम्मा इस्लामिक स्टेट (आइएस)ले लिएको छ ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलनमा केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।
यस गृहयुद्धमा आतङ्ककारी सङ्गठन अल कायदा र आइएस हाबी हुदै गयो । ती आतङ्ककारीले गरेका बारम्बारको आक्रमणमा परी सिरियामा सन् २०११ देखि हालसम्म दुई लाख ८० हजारभन्दा बढी व्यक्ति मारिएका छन् ।
त्यसैगरी यस आक्रमणमा लाखौँ व्यक्ति घाइते भएका छन् । लाखौँ व्यक्ति आफ्नो देशमा र छिमेकमा पर्ने देशमा शरणार्थीको जीवन बिताउन बाध्य भएका छन् ।