विश्व

८ हजार सैन्य अधिकारी निलम्बित

टर्की । टर्की सरकारले सैन्य ‘कु’ को प्रयासमा संलग्न रहेको आरोपमा करिब ८ हजार सैन्य अधिकारीहरुलाई निलम्बन गरेको छ । साथै न्याय व्यबस्थासंग जोडिएका करिब छ हजार कर्मचारीलाई नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएकाहरु मध्ये केही उच्च अधिकारीहरु समेत रहेको बताइएको छ । टर्कीका राष्ट्रपति रिसेप टाइप एर्डोगानले राष्ट्रविरुद्ध विद्रोह गर्नेहरुलाई भाईरसको संज्ञा दिँदै कसैलाईपनि नछाड्ने चेतावनी दिएका छन् ।

राष्ट्रपति रिसेपले अमेरिकामा रहेका ७५ वर्षीय धर्म गुरु फतहुल्लाह गुलेन ‘कु’ गराउन संलग्न रहेको दाबी समेत गरेका छन् । यद्यपी गुलेनले कुको प्रयासमा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएका छन् ।

टर्कीको सरकारी सञ्चारमाध्यमका अनुसार १ सय भन्दा बढी उच्च सैन्य अधिकारी जर्नेलहरुलाई नियन्त्रणमा लिइएको छ । ८ उच्च सैन्यधिकारीहरु भने हेलिकप्टरबाट ग्रीस भागेको बताइएको छ । गैह्र कानुनी ढङगबाट प्रवेश गरेको आरोपमा उनीहरुलाई ग्रीसको सिमावर्ती शहर अलेक्जेन्द्रोपाउलीको अदालतमा उपस्थित गराइएको छ ।