विश्व

हवाई आक्रमण १६ सर्वसाधारण मारिए

सिरिया । (एजेन्सी)– सिरियाली सैनिकले आतंकवादी समूह इस्लामिक स्टेट्सविरुद्धको कारवाहीमा १६ जना सर्वसाधारणले ज्यान गुमाएका छन् । सिरियाको प्रान्तीय राजधानी राकामा सोमबार बिहान आईएसलाई लक्षित गरी भएको हवाइ हमलामा उनीहरुको ज्यान गएको हो ।

केही दिनयता सिरियाली सैनिकले आइएसका विरुद्ध भन्दै स्थलगत तथा हवाई कारबाही थालेको छ । सो कारबाहीमा परी कैयौँ सर्वसाधारणको ज्यान जाने गरेको बताइएको छ । सो हवाई आक्रमणमा छ बालबालिकासहित १६ सर्वसाधारणको मृत्यु भएको मानवअधिकावादी समूहले बुधबार जानकारी दिएको छ ।

यस आक्रमणमा परी अन्य दर्जनौँ व्यक्ति घाइते भएका र तीमध्ये कैयौँको अवस्था चिन्ताजनक रहेको बताइएको छ । रसियाली समर्थक सेनाबाट भएको यस हवाई आक्रमण आइएस लक्षित रहेको बताइएको छ । तर त्यसमा परी आइएसका कुनै लडाकू भने हताहत भएका छैनन् ।

जिहादीहरुको आक्रमणमा गत शनिबार र आइतबार सिरियाको राजधानी दमासकसमा ४० भन्दाबदी सैनिक मारिएका छन् । त्यसयता सिरियाली सेनाले पनि आइएस विरुद्ध भन्दै कारबाही गरिरहेको छ । सोमबारको यस आक्रमणबाट सर्वसाधारण हताहत भएका यहाँको मानवअधिकारवादी संस्थाले जनाएको हो ।