न्युयोर्क

अमेरिकामा तीन जना प्रहरीकाे हत्या

न्यूयोर्क । अमेरिकाको लुइजियाना राज्यमा तीन प्रहरी अधिकारीहरुको गोली हानेर हत्या भएको छ । यस आक्रमणमा अरु तीन प्रहरी अधिकारीहरु घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

लुइजियाना राज्यको बेटन रुज भन्ने स्थानमा गोली चलेको हो । गोली हानेर प्रहरीको हत्या गर्ने २९ वर्षीय व्यक्तिको पनि प्रहरी कारबाहीमा मृत्यु भएको छ । प्रहरीका अनुसार गेविन लन्ज भन्ने व्यक्तिले नै प्रहरी अधिकारीहरुको हत्या गरेका थिए । घटनामा एकभन्दा धेरै व्यक्तिको संलग्नता रहेको प्रारम्भिक अनुमान गरिए पनि प्रहरीले एकजना गेविन लन्जको मात्रै संलग्नता रहेको पुष्टि गरेको छ ।

यसैबीच अमेरिकाका राष्ट्रपति बराक ओबामाले घटनाको निन्दा गरेका छन् । प्रहरी अधिकारीहरुको हत्या अत्यन्त कायरतापूर्ण रहेको ओबामाको भनाइ छ । उनले भनेका छन्, ‘प्रहरीहरुमाथि यसप्रकारको आक्रमण कुनैपनि अर्थमा उचित मान्न सकिँदैन । यो एकदमै कायरतापूर्ण छ ।’

स्थानीय निकायका प्रवक्ताले एक टेलिभिजनसँग कुराकानीको क्रममा गोलीबारीको घटना स्थानीय समयअनुसार बिहान नौ बजे भएको थियो । एक प्रत्यक्षदर्शीले टेलिभिजन च्यानललाई भनेका छन् कि सैन्य पोशाक लगाएको र कालो मास्क लगाएको एक बन्दुकधारीले आक्रमण गरेको थियो ।

दोष सरकारलाई

प्रहरी हत्याको कारण अझै खुलेको छैन । हत्यापछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । घटनास्थल वरपरका सडक बन्द गरेर सर्च अपरेशन र जाँच गरिएको छ ।

अमेरिकी राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीका उम्मेदवारको दौडमा सबैभन्दा अग्रस्थानमा रहेका डोनाल्ड ट्रम्पले पनि यस घटनाप्रति दुःख व्यक्त गरेका छन् र घटनाको जिम्मेवार स्वयम् अमेरिकी सरकार रहेको बताएका छन् ।

उनले ट्वीट गरेर भनेका छन्, ‘हाम्रो देशको नेतृत्वको कमीका कारण अझै कति अधिकारीहरु र आम नागरिकहरुले ज्यान गुमाउनु पर्ने हो रु म देशमा कानुनी व्यवस्थाको माग गर्दछु ।’

हालै लुइजियाना राज्यको बेटन रुज भन्ने स्थानमा काला जातिको एक व्यक्तिको पनि हत्या भएको थियो । उक्त हत्याको विरोधमा पूरै अमेरिकाभर प्रदर्शन भएको थियो ।

त्यसपछि मिनेसोटामा पनि प्रहरी माथि फायरिङ भएको थियो ।

यस घटनाको बदला लिनका लागि ड्यालस भन्ने स्थानमा काला जातिको एक व्यक्तिले पाँच प्रहरी अधिकारीहरुको हत्या गरेका थिए ।
(बीबीसीको सहयोगमा)
३ साउन, २०७३ ।