विश्व

फ्रान्सको विभत्स घटनाको विश्वव्यापी निन्दा

ओबामा भन्छन्–आतङ्कवादले कहिल्यै जित्न सक्दैन
एजेन्सी– फ्रान्सको नाइस सरहमा भएको घटनाको विश्वव्यापी निन्दा भएको छ । एक रिसोर्टमा शुक्रबार बिहान भएको बन्दुक आक्रमणको विश्वका नेताहरुले निन्दा गरेका हुन् ।

सो हमलामा परी ८४ जनाको ज्यान गएको छ । बिहान भएको सो हमलामा परी घटनास्थलमै ८० जनाको ज्यान गएको थियो । यस घटनाको विरोधगर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतङ्कवादले कहिल्यै पनि जित्न नसक्ने धारणा राखेका छन् ।
राष्ट्रपति ओबामाले उक्त घटनामा मारिएका व्यक्तिप्रति श्रद्धान्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । त्यस्तै क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले पनि सो घटनाको निन्दा गरेका छन् । उनले दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।
एकजना बन्दुकधारीले महोत्सवमा रमाइरहेको स्थानमा ट्रक लगेर ट्रकभित्रैबाट बन्दुकले हमला गरेको थियो । उसको पहिचान अहिले सम्म हुन सकिरहेको छैन । त्यस्तै टर्कीका राष्ट्रपति रिसेप एर्डोग्यानले पनि सो घटनाप्रति दुःख व्यक्त गरेका छन् ।  उनले यसमा संलग्नलाई जतिसक्दो चाँडै पत्ता लगाएर कारबाही गर्न माग गरे । उक्त घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ प्रधानमन्त्री लि खछ्याङलगायत विश्वका नेताहरुले दुःख व्यक्त गरेका छन् ।