न्युयोर्क

पर्यटन बोर्डको जनसम्पर्क प्रतिनिधिमा प्रदीप श्रेष्ठ नियुक्त

न्यूयोर्क । नेपाल सरकारले अमेरिकाको न्यूयोर्कका लागि प्रदीप श्रेष्ठलाई अवैतनिक जनसम्पर्क प्रतिनिधिमा नियुक्त गरेको छ । अमेरिकामा लामो समयदेखि व्यवसाय सञ्चालनसँगै सामाजिक क्षेत्रमा क्रियाशिल श्रेष्ठलाई पर्यटन मन्त्रालयको सिफारिसमा नेपाल पर्यटन बोर्डले दुई वर्षका लागि जनसम्पर्क प्रतिनिधि नियुक्त गरेको हो ।

श्रेष्ठलाई नेपालको पर्यटन प्रवद्र्धनका लागि अमेरिकाका उत्तरपूर्वी राज्यहरुमा विभिन्न प्रचारात्मक गतिविधि गर्ने जिम्मेवारी तोकिएको छ । त्यस्तै अमेरिकाबाट नेपाल जाने पर्यटकको संख्या बृद्धिका लागि पहल गर्ने जिम्मेवारी पनि नेपाल सरकारले श्रेष्ठलाई दिएको छ । यो जिम्मेवारी सँगै श्रेष्ठले नेपाल पर्यटन बोर्डको लोगो प्रयोग गरी विभिन्न निकायसँग समन्वय गरी आफ्नो जिम्मेवारी पूरा गर्न पाउनुहुनेछ ।

श्रेष्ठलाई जुन १८ तारिख न्यूयोर्कको ज्याक्सन हाईट्समा विशेष कार्यक्रम गरी नेपाल सरकार पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राई, सहसचिव घनश्याम उपाध्याय, पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशी र पर्यटन बोर्डका सदस्य सुदन सुवेदीले 'Appointment as Honorary Public Relations Representative' को जिम्मेवारीसहितको पत्र हस्तान्तरण गर्नु भएको हो ।