न्युयोर्क

फिप्नाको केन्द्रीय सल्लाहकार समितिमा ७ जना मनोनयन

न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) को केन्द्रीय सल्लाहकार समितिमा ७ जनालाई मनोनयन गरिएको छ । फिप्नाको केन्द्रीय कार्यसमितिको बैठकले महासंघको ११ सदस्यीय सल्लाहकार समितिमध्ये ७ जना सल्लाहकारलाई मनोनयन गरेको हो । महासंघले समिर महर्जन, अर्जुन गुरुङ, दिपेश लिम्बु, मानबहादुर राना मगर, भरत मोक्तान तामाङ, छेपक दोर्जे गुरुङ र निमा शेर्पालाई सल्लाहकारमा मनोनयन गरेको हो । महासंघले अमेरिकामा रहेर आदिवासी जनजातिको अधिकारको पक्षमा अभियान चलाएका व्यक्तित्वहरुलाई सल्लाहकारमा मनोनयन गरेको हो ।

मनोनित समिर महर्जन फिप्नाका निवर्तमान उपाध्यक्ष हुनुहुन्छ भने नेवाः गुठी न्यूयोर्कका वर्तमान अध्यक्ष हुनुहुन्छ । उहाँ लामो समयदेखि आदिवासी जनजातिको अधिकार रक्षाका लागि योगदान दिइरहनु भएको छ । त्यस्तै अर्जुन गुरुङ फिप्नाको भूतपूर्व महासचिव हुनुहुन्छ भने आदिवासी जनजाति महासंघको अभियानमा उल्लेख्य योगदान पु¥याएको व्यक्तित्व हुनुहुन्छ । हाल उहाँ आर्थिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । त्यस्तै दिपेश लिम्बु फिप्ना र किरात याक्थुम चुम्लुङको भूतपूर्व महासचिव हुनुहुन्छ । हाल उहाँ आदिवासी जनजातिको अधिकार रक्षाका लागि क्रियाशिल व्यक्तित्व हो ।

त्यस्तै मानबहादुर राना मगर फिप्नाको निवर्तमान महासचिव हुनुहुन्छ भने मगर संघ अमेरिकाको वर्तमान महासचिव हुनुहुन्छ । उहाँ लामो समयदेखि आदिवासी जनजातिको अधिकार रक्षा र संगठन विस्तारमा क्रियाशिल व्यक्तित्व हो । त्यस्तै भरत मोक्तान तामाङ लामो समयदेखि आदिवासी जनजातिको अधिकार रक्षाका लागि क्रियाशिल व्यक्तित्व हुनुहुन्छ ।

उहाँ तामाङ सोसाईटी अमेरिकाको पूर्वअध्यक्ष हुनुहुन्छ । फिप्नाले मनोनयन गरेका अर्का सल्लाहकार छेपक दोर्जे गुरुङ फिप्नाको भूतपूर्व कोषाध्यक्ष हुनुहुन्छ भने मुस्ताङ किदुकको अध्यक्ष भईसकेको व्यक्तित्व हो । त्यस्तै निमा शेर्पा ब्लड डोनर्स अमेरिकाको उपाध्यक्ष हुनुहुन्छ भने आदिवासी जनजातिको पक्षमा अभियान चलाउने व्यक्तित्व हो ।