कला-साहित्य

कविता~ फूलहरुलाई विन्ति

 

ए सुन्दर फूल !
मान्छेका जस्ता अनुहारदेखि  होसियार !
घाम पानी, खडेरी,
आँधी हुरी, तुषारो, असिना त केही हैन
मान्छे रुपी जनावारदेखि सतर्क !
जसले तिमीलाई
एकै छाक पार्न सक्छ ।
मान्छेले
आफ्नो मर्जीमा चल्ने बनाए ईश्वर
आफ्नो इच्छा र स्वार्थको लागि
जन्माए देवी देवताहरु
अनि मन्दिरमा कैद गरी राखेर
गाएका हुन भजन
आफ्नो सुखभोग र भलोको लागि
शक्ति माग्दै बलि दिएर
निर्दोष पशुपंछीहरु

कति स्वार्थी मान्छे
देवताभन्दा ठूलो मान्छे !
ए सुन्दर फूल !
तिमीलाई मेरो बिन्ती छ
आफ्नो मालिकै भरोशा नगर
दिनदहाडै सतित्व लुट्ला
तिमी ढुक्कसँग नसुत
रमाएर बाँच्ने सपना टुट्ला
ऐनाको शिसा झैं
तिम्रो भाग्य फुट्ला ।
तिमीभित्रको इन्द्रधनुषी सपना
अनि सुन्दर फूलको संसार
केही निमेषमै खाक हुन के बेर ?
तिम्रो सुरक्षा खातिर
आउने छैनन कुनै सरकार
आउने छैनन कुनै प्रहरी र जेल
आउने छैनन कुनै साथ दिने अड्डाअदालत
धाउने छैनन कुनै वकिल र कानुन
आए पनि
तिमी निदाएपछि आउलान
एक छिन घोसे मुन्टो लाएर
आँखाभरी आँसु टिल्पिलाएर
चुक्चुकाउन सिवाय
सु्क्सुकाउने केही सामर्थ छैन ।
तिम्रो शीर चेट
अनि
तिम्रो योनी छेदन भएपछि
तिम्रो बचाउ गर्न
तिनीहरु आईपुगेर के सार्थक ?
तिम्रो तन निर्मम कुटिएपछि
तिमी लुटिएपछि
तिम्रो पोष्टमार्टम गर्न बाहेक ।
ए सुन्दर फूल !
मान्छेका जस्ता अनुहारदेखि होसियार !
घाम पानी, खडेरी,
आँधी हुरी, तुषारो, असिना त केही हैन
मान्छे रुपी जनावारदेखि खबरदार
जसले तिमिलाई
एकै छाक पार्न सक्छ ।
ए सुन्दर फूल !
तिमी फुलिरहेको क्षण
तिमीलाई मन पराउने धेरै हुन्छन
जसमा मान्छे, भमरा, मौरी, पुतली हुन्
तिमी उसलाई रोज
जोसित तिम्रो सुखी जीवन बित्ला
अनि जसले
तिमिलाई घाम, पानी, आँधी हुरी
तुषारोसित बचाएर
माया गरी राख्ला ।

  दीलिप सागर राई

मोरङ, हाल मलेसिया