कला-साहित्य

मरिससका निमित्त राष्ट्रपतिबाट रुक्मिणी सम्मानित

काठमाडौं । विगत दुई दशकभन्दा बढी समयदेखि नेपाली, हिन्दी र अंग्रेजी भाषा साहित्यमा कलम चलाउँदै आएकी काठमाण्डौंकी साहित्यकार रुक्मिणी ‘पगली’ भण्डारी गणतन्त्र मरिससमा ‘नेपालको गौरव’बाट सम्मानित भएकी छिन् ।

गतसाता मरिससमा आयोजना गरिएको साताव्यापी१४ औं अल इण्डिया पोयटेस कन्फ्रेन्स (अखिल भारतीय कवयित्री सम्मेलन) का अवसरमा नेपाली कवयित्री भण्डारीलाई ‘नेपालको गौरव’ बाट सम्मानित गरिएको हो ।
नेपाली नागरिक भएर पनि हिन्दी भाषा साहित्यको अभिवृद्धिमा पुर्याएको अतुलनीय योगदानको उच्चकदर गर्दै कवयित्री भण्डारीलाई गणतन्त्र मरिससका निमित्त राष्ट्रपति (उपराष्ट्रपति) परमशिवम् पिल्ले व्यापूर्यले सो सम्मान प्रदान गरेका हुन् ।

कासा फ्लोरिडा, पोर्ट लुईस मरिससमा आयोजित सम्मान समारोहमा अल इण्डिया पोयटेस कन्फ्रेन्सका संस्थापक अध्यक्ष प्रा।डा लारी आजादको उपस्थिति थियो । ६ दिने सम्मेलनमा कवयित्री भण्डारीले हिन्दी भाषा साहित्यको प्रर्वद्धन विषयमा कार्यपत्र पनि प्रस्तुत गरेकी थिइन् । सोही अवसरमा मैथली भाषाको श्रीवृद्धिमा पुर्याएको योगदानको कदर गर्दै नेपालकी अर्की साहित्यकार करुणा झालाई पनि सो सम्मानबाट सम्मानित गरिएको थियो ।
कवयित्री भण्डारीका नेपाली भाषाका कविता र लेख हरु कान्तिपुर, गोर्खापत्र र मधुपर्क लगायतमा प्रकाशित भएका छन् । उनले भारतबाट प्रकाशित हुने हिन्दी भाषाको मासिक ‘कालजयी’ र नेपालबाट प्रकाशित हुने हिन्दी भाषाको मासिक ‘हिमालिनी’ मा हिन्दी भाषा साहित्य विषयका साथै कवितामा कलम चलाउँदै आएकी छिन । भारतबाट प्रकाशित हुने चर्चित साहित्यीक मासिक ‘कादम्विनी’का साथै भारतीय चर्चित दैनिक पत्रिकाहरु जागरण, हिन्दूस्तान टाइम्स र महाराष्ट्रबाट प्रकाशित हुने अधिकाँश पत्रिकाहरुमा आफ्नो कविता र लेख प्रकाशित भईरहेको उनले बताईन ।

भण्डारीले अमेरीकाबाट सृजनात्मक लेखाई विषयमा स्नातकर कानून विषयमा स्नातकोत्तर गरेकी छिन् । सफल युवा व्यवसायीको रुपमा रहेकी उनी काठमाण्डौको प्रतिष्ठित निर्माण कम्पनी स्लोक विल्डर्स एण्ड सप्लायर्सकी कार्यकारी अध्यक्ष हुन् ।

साहित्यकार भण्डारी यसअघि भारतको उत्तरप्रदेशबाट सन् १९९४ मा त्यहाँको उत्कृष्ट पुरस्कार, अमेरिकी बायोग्राफि इन्स्टिच्यूटबाट सन् १९९७ मा उत्कृष्ट कवि पुरस्कार, सोही संस्थाबाट सन् १९९८ मा वर्ष महिलाको रुपमा पुरस्कृत भईसकेकी छिन् ।

मरिसस बसाईका क्रममा कवयित्री भण्डारीले गणतन्त्र मरिससका प्रधानमन्त्री सर अनेरुद जगनाउथलाई उहाँकै निवासमा भेटेर  नेपाली ढाकाको टोपी र खादा लगाईदिनुका साथै काठबाट बनेको कलात्मक मयुर झ्याल उपहार दिएकी थिइन् । भेटघाटका क्रममा प्रधानमन्त्री जगनाउथ नेपाल आउन इच्छुक रहेको पनि उनले बताएकी छिन् ।