कला-साहित्य

विरेन्द्र र विजेताको ‘अनमोल’ सार्वजनिक

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका गीतकारद्वय विरेन्द्रहाङ लाबुङ लिम्बू र विजेता थेबे लिम्बूले आधुनिक गीति एल्बम ‘अनमोल’ बजारमा ल्याएका छन् । अमेरिकामा बस्दै आएका विरेन्द्रहाङ र विजेताले नेपाली गीत संगीतलाई भुल्न सकेका छैनन् । व्यस्त जीवनका बावजुत पनि उनीहरुले नेपाली गीत संगीतलाई माया देखाएकै छन् । त्यही मायाको उपजहो उनीहरुको ‘अनमोल’ ।

हालै राजधानीमा एक कार्यक्रमबीच नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा कवि बैरागी काइँला, भर्सस्टाइल गायक राजेशपायल राई, बरिष्ठ संगीतकार राजु सिंह र लिम्बू भाषाविद् तथा कलाकार यासेली योङ्हाङले संयुक्त रुपमा ‘अनमोल’ एल्बमको विमोचन गरेका हुन् ।


‘अनमोल’ सार्वजनिक गर्दै कवि बैगारी काइँलाले भने–‘विदेशमा रहेर पनि एल्बम निकाल्नु गीतकारद्वयको नेपाली गीतसंगीतप्रति लगाव हो । यसले नेपाली गीतसंगीतमा टेवा पुग्छ ।’ उनले गीतकारद्वयको चर्चा समेत गरे । त्यस्तै, कार्यक्रममा राजेशपायल राई, राजु सिंह र यासेलीले पनि उनीहरुको गीत राम्रो भएको भन्दै मुक्तकण्ठले प्रसंशा गरे । ‘अनमोल’ एल्बममा नौवटा गीत समावेश छन् । जसमा शंका नै हो, नआयौं तिमी, बसेको छौं, रहर होइन मेरो, खुसी लाग्ने, मेरो आफ्नो भन्छौ, अनमोल, पिरतीको डोरी र पिरतीको हाम्रो यात्रा बोलका गीत छन् ।

ताराप्रकाश लिम्बू, राजु सिंह, उदय सोताङ र जन्म राईको संगीत रहेको एल्बम ‘अनमोल’ मा राजेशपायल राई, उदय सोताङ, मनिला सोताङ, दीपक लिम्बू, जगदिश समाल, मिलन अमात्य, मेलिना राई, कुशल थलङ र कञ्चन थलङको स्वर रहेको छ । नौ गीतमध्ये तीनमा ताराप्रकाशको संगीत रहेको ‘अनमोल’ मा पाँच गीत विरेन्द्रहाङको शब्द रहेको छ भने अन्य बाँकीमा विजेताको छ । यस एल्बमलाई रुबुशा क्रिएटिभ वर्कसले  बजारमा ल्याएको हो । यो कम्पनी गायक रुखमान लिम्बूको हो । कार्यक्रममा दुई गीतको म्युजिक भिडियोसमेत देखाइएको थियो