कला-साहित्य

मनको भूमिसुधार

विजेता थेवे लिम्बू
हालः न्यूयोेर्क

हिजो जस्तो लाग्छ
ती विशाल  हृदयका पाटाभरि
लुकामारी खेलेको
स्वतन्त्र भई
मनका आकाशमा बादलसरी
माथि माथि उडेको
न कुनै साँध थियो त्यहाँ
न त कुनै सीमाना थियो
न कुनै बाधा थियो
न त कुनै बन्धन
स्वतन्त्रता थियो त्यसैले
स्वतन्त्र हुनु थिएन,
फराकिला थिए
ती मनका भिरपाखाहरू
खुल्ला थिए बारीका फाँटहरू
अनायसै
अमिनीहरू आई
नापेछन् ती मनका भीरपाखाहरू
कोरेर गएछन् सीमाना
मनका कित्ताहरूमा
अनि
लागू भएछ
भूमिसुधार,
खोसिएछन् धेरैका हकÞअधिकार
साँगुरिएछन्  फराकिला मनका कित्ताहरू
तेरो र मेरोको होडबाजीमा
टाडा भएछन्
आफन्तहरूसँगको आफ्नोपन
बाक्लिए छन् बस्तीहरू
पातलिए छन अनायसै
आफन्तहरू सँगको न्यानोपन
साँगुरिएका गल्लीहरूमा
जीवनरूपी गाडी
अडिएछ टक्क
पूर्ण बिराम झैँ ।