विश्व

अमेरिका, जापान र भारतबाट संयुक्त सैन्य अभ्यास

एजेन्सी । दक्षिण चीन सागरमा चीनको बढ्दो गतिविधिकाबीच भारत, जापान र अमेरिकाले शुक्रबारबाट  संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । तीनै देशका सेनाले एकसातासम्म समुद्री सैन्य अभ्यास गर्ने भएका छन् । उक्त संयुक्त अभ्यासलाई ‘मालाबार’ नाम दिइएको छ ।  यो सैन्य अभ्यासमा तीन देशका ३० भन्दा बढी ठूला समुद्रीसैन्य जहाज उतारिएको छ ।

यस क्रममा यी देश आपसमा तालमेल बढाउनका लागि समुद्री सुरक्षामा विशेष ध्यान दिने भएका छन् । यसभन्दा पहिले पनि चीनलाई चुनौती दिनका लागि यी देशले दक्षिण चीन सागरमा संयुक्त सैन्य अभ्यास गरिसकेका छन् ।

त्यो बेला चीनले भारत र जापानविरुद्ध कडा आक्रोश पोखेको थियो । चीनले दक्षिण चीन सागरको विवादित इलाकालाई आफ्नो भएको दाबी गर्दै आएको छ । भारतीय र अमेरिकन सेनाले सन् १९९२ देखि निरन्तर ‘मालाबार’ सैन्य अभ्यास गर्दै आएका छन् । दुबै देशले अहिलेसम्म १९ वटा संयुक्त सैन्य अभ्यास गरिसकेका छन् ।