विश्व

जाट आन्दोलनले मोदी सरकार संकटमा

भारत (एजेन्सी) । भारतको हरियाणा राज्यमा शुरु भएको जाट अन्दोलनले मोदी सरकार संकटमा परेको छ ।
केही महिना पहिले देखि जाट आन्दोलन जारी छ । बीचमा आन्दोलन केही सुस्ताए पनि अहिले पुनः आन्दोलन चर्किएको छ । जाट आन्दोलन फेरि शुरु भएपछि सुरक्षा संयन्त्र कडा पारिएको भारतिय सञ्चार माध्यामहरुले उच्च प्राथमिकताकासाथ समाचार प्रशारण र प्रकाशन गरेका छन् ।

गत आइतबार हरियाणा राज्यको नौ जिल्लाका जाट समुदायले आरक्षणलाई लिएर आन्दोलन सशक्त बनाएका हुन् । उनीहरुले हरियाणा सरकारलाई १५ दिनको अल्टिमेटम दिँदै आरक्षणलाई तुरुन्त लागु गर्न माग गरेका छन् ।

उनीहरुले गाउँबाट आफ्नो आन्दोलन सुरु गरेका छन् । उनीहरुले हिसार जिल्लाको मय्यर, भिवानी जिल्लाको धनाना, रोतक जिल्लाको जसिया, जिन्ड जिल्लाको झाँज कुर्द, पानिपथ जिल्लाको माटलोडा र रेवारी जिल्लाको प्राणपुरामा विरोध र्‍यालीको आयोजना गरेका छन् ।

हरियाणा राज्यको गृहमन्त्रालयका सहसचिव राम निवासका अनुसार अर्ध सैनिक बलको ५५ कम्पनीलाई आन्दोलनलाई नियन्त्रणमा राख्न तयारी अवस्थामा राखिएको छ ।

‘यदी सरकारले निषेधित क्षेत्र घोषणा गरेको ठाउँमा आन्दोलनकारीहरुले अवाञ्छनिय गतिविधि गर्छन् भने त्यसबाट निस्कने परिणामको उनीहरु स्वयं जिम्मेवार हुन्छन्,’ गृह सहसचिव निवासले भने, ‘त्यस्तो ठाउँमा आन्दोलन गर्न नेतृत्व लिने व्यक्तिलाई प्रमुख जिम्मेवार मानिने छ । हामीले विरोध गर्नका लागि ठाउँ निर्धारण गरिदिएका छौं ।’

हाइ अलर्टमा राखिएका जिल्लामा रोतक, झाँजर, सोनिपथ, जिन्ड, भिवानी, हिसार, फत्तेवाद, पानिपथ तथा कैटहाल छन् । उक्त जिल्लाहरुमा जाट समुदायको बाहुल्यता रहेको छ । फेब्रुअरी महिनामा भएको हिंसात्मक आन्दोलनमा पनि सोही ठाउँमा धेरै दंगा भएका थिए ।
जाट समुदायका नेताले पन्जाब र हरियाणाका उच्च न्यायलयले सरकारसँग आरक्षणका दिनका लागि भएको सम्झौतालाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि आन्दोलन चर्किएको हो ।

गत फेब्रुअरी महिनामा आरक्षणको माग गर्दै हरियाणामा भएको आन्दोलन १० दिन चलेको थियो । त्यसमा ३० जनाको मृत्यु हुनुका साथै ३२० बढी घाइते भएका थिए ।