कला-साहित्य

‘तिमाल जात्रा’ यसपाली सडकमै !

काठमाडौं, बैशाख । काठमाडौंको बुद्ध स्तुपामा हुने तिमाल जात्रा यस वर्ष सडकमै हुने भएको छ । गत वर्ष बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण विश्व सम्पदा बौद्धनाथ स्तुपामा क्षति पुगेपछि महोत्सव सडकमै गर्न लागिएको हो । हाल जिर्णोद्धार चलिरहेकोले दशनार्थीहरु बत्ती बाल्न मुख्य गेटबाट माथि जान नमिल्ने भएपछि सडकमै जात्रा मनाउनुपर्ने अवस्था आएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पुर्ण कुमार लामाले बताए ।
हरेक चैत पूर्णिमाको अघिल्लो दिन लाग्ने तिमाल जात्रामा काठमाडौं आसपासका जिल्लाहरुबाट तामाङहरु भेला हुन्छन् र ङोवा (पितृपुजा) गर्छन् । हजारौंको संख्यामा जम्मा हुने दर्शनार्थीहरु पूजापछि गीत गाउँदै नाचगान गर्छन् । यसपटकको चैत पुर्णिमा आउँदो विहिबार परेको छ । बत्ती बाल्नेदेखि हजारौं भेला भएर ङोवा गर्नेसम्मका गतिबिधि स्तुप वरिपरिको साँघुरो परिक्रमा क्षेत्रमै गर्नुपर्ने भएकाले यसपटक जात्रा व्यवस्थापन मुश्किल परेको छ’ अध्यक्ष लामाले भने, ‘अलिकति पनि भागदौड चल्यो भने सयौं मान्छेको ज्यान खतरामा पर्नसक्ने अवस्था छ । त्यसकारण जात्रा सडकमै निकाल्नपर्ने हुन्छ ।’
यिनै समस्या लिएर जात्रा आयोजक मुल समारोह समिति बाटो डाइभर्सनका लागि वैकल्पिक योजनाको नक्शा सहित जिल्ला प्रसासन कार्यालय काठमाडौं पुगेको थियो । प्रशासनले भने ‘जात्रा र सवारी आवागमन दुबै सहज बनाउने गरि’ एक साता अघि नै तोक आदेश दिएको छ । समितिले यसलाई ‘विरोधाभासपूर्ण’ भन्दै पुनः पहलकदमी अघि बढाइने जनाएको छ । ‘बौद्धका विभिन्न सरोकारवाला संघसंस्थासँग हामीले बृहद छलफल चलायौं’ अध्यक्ष लामाले भने, ‘दर्शनार्थीको ज्यानको जोखिमसँग जोडिएको हुनाले प्रशासनले सघाउनुपर्ने देखिन्छ ।’
मुल समारोह समितिले यसबर्षदेखि जात्राको नाम समेत परिवर्तन गरेर ‘बौद्ध–तिमाल जात्रा’ राखेको छ । ‘तिमाल क्षेत्रका मात्रै नभएर स्थानिय र सबै तामाङ समुदायको जात्रा भएकोले नाम परिवर्तन आवश्यक थियो’ बौद्धका पुर्व वडा अध्यक्ष नेपालजित लामाले भने । पूर्णिमाको अघिल्लो दिन बौद्धमा बत्ती बालेपछि रातभर जाग्राम बसेर सेलो गाउँदै दर्शनार्थीहरु भोलिपल्ट स्वयम्भु पुग्छन् । स्वयम्भु स्तुपमा यो जात्रा पुर्णिमाको भोलिपल्ट मनाउने चलन रहँदै आएको छ ।