फोटो ग्यालेरी

उपचारपछि संगीतकार गुरुङ स्वदेश फर्किदै

काठमाडौं । लामो समयदेखि भारतमा उपचाररत वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यमा सुधार आएपछि उनी बुधबार स्वदेश फर्किने भएका छन् ।

जीवनका ७८ औँ वसन्त पार गरिसकेका राष्ट्रिय गानका सङ्गीतकारसमेत रहेका गुरुङ दिल्लीस्थित मेदान्त अस्पतालमा सफल उपचारपछि स्वदेश फर्कन लागेको लेखक–समीक्षक प्रकाश सायमीले जानकारी दिएका हुन् ।
गुरुङ करिब दुई महिनादेखि उक्त अस्पतालमा भर्ना भएका थिए । सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मिएका गुरुङ लामो समयदेखि मधुमेह, पार्किन्सनलगायतका रोगबाट पीडित थिए ।
मेदान्तको उपचारपछि उनको स्वास्थ्य सामान्य स्थितिमा आएको भर्खरै त्यहाँ पुगेर आएका सङ्गीतकर्मी रतन चन्दले बताए । उनले भन्नुभयो – ‘उहाँको स्वास्थ्यमा लगभग सुधार आएको छ, बोल्न र मान्छे चिन्न सक्नुहुन्छ । चिकित्सकले पनि अब घर लाँदा हुन्छ भन्नुभयो ।’
 
स्वदेश फर्किएलगत्तै गुरुङको सम्मानमा विमानस्थलमै एक कार्यक्रम गरेर उहाँद्वारा सङ्गीतबद्ध राष्ट्रगान ‘सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली’, सैनिक गान ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो’ लगायत गीत गाउने कार्यक्रम रहेको छ ।
 
नसा तथा पाचन प्रणालीमा समस्या आएपछि यसअघि ग्रान्डी अस्पतालमा भर्ना भएका गुरुङलाई ग्रान्डीले नै मेदान्त ‘रिफर’ गरेको हो ।