कला-साहित्य

कृष्णसेन ‘इच्छुक’ पुरस्कार पत्रकार शर्मालाई

काठमाडौँ। रिपोर्टर्स क्लब नेपालले यस वर्षको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासङ्घका पूर्वमहासचिव ओम शर्मालाई दिने निर्णय गरेको छ ।

क्लबको आज बसेको बैठकले आफ्नो १७ औँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गरिँदै आएको रु २५ हजार सहितको उक्त पुरस्कार पत्रकार शर्मालाई प्रदान गर्ने निर्णय गरेको हो । यसैगरी रु २० हजार राशिको ‘वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार’बाट ‘द हिमालयन टाइम्स’ अङ्ग्रेजी दैनिकका कार्यकारी राजनीतिक ब्युरो प्रमुख रामकुमार कामतलाई, ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ ‘द काठमाडौँ पोस्ट’का वरिष्ठ उपसम्पादक कमलदेव भट्टराई र ‘रेडियो नेपाल’का समाचार निर्देशक खगेन्द्र खत्रीलाई प्रदान गर्ने निर्णय गरिएको छ । उक्त पुरस्कारको राशि रु जनही रु १०–१० हजार छ ।

यस्तै ‘उमा सिंह स्मृति महिला पत्रकारिता पुरस्कार’ ‘इमेज च्यानल’की वरिष्ठ संवाददाता सरस्वती कर्माचार्यलाई प्रदान गर्ने निर्णय गरिएको छ । सो पुरस्कारको राशि रु २० हजार रहेको छ । क्लबले यस वर्षको ‘गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’, ‘तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’, ‘बाबुछिरी शेर्पा फोटो पत्रकारिता पुरस्कार’, ‘सक्रिय युवा पत्रकारिता पुरस्कार’ र ‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति मोफसल पत्रकारिता पुरस्कार’ को पनि क्रमशः घोषणा गर्दै जाने जनाएको छ । क्लबको वार्षिकोत्सव यही चैत १७ गते हुनेछ ।