विश्व

तालिवानविरुद्धको कारबाहीमा १७ जना मारिए

अफगानिस्तान । उत्तरी अफगानिस्तानका विभिन्न क्षेत्रमा त्यहाँको सेना र प्रहरीले गरेको संयुक्त कारबाहीमा १७ जनाको ज्यान गएको छ । अफगानिस्तानको सेना र प्रहरीले संयुक्त रुपमा सुरु गरेको सो कारबाहीका क्रममा मारिने व्यक्तिको सङ्ख्या शनिबार अपराह्नसम्ममा १७ पुगेको त्यहाँका सुरक्षा अधिकारीहरुले जनाएका हुन् ।

गृहमन्त्रालयले तालिवान सशस्त्र विद्रोहीविरुद्ध अफगान सैनिक र प्रहरीले संयुक्तरुपमा गरेको कारबाहीमा परी १७ जना तालिवान लडाकू मारिएको जनाएको छ । अफगान गृह मन्त्रालयद्वारा शनिबार प्रकाशित विज्ञप्तिमा उत्तरी अफगानिस्ताका केही भूभागमा तालिवानहरुको बाक्लो उपस्थिति भएको जानकारीका आधारमा कारबाही गरिएको जनाइएको छ । उक्त विज्ञप्तिमा अफगानिस्तानको विभिन्न प्रान्तमा जारी कारबाहीको क्रममा ती आतङ्ककारी मारिएका बताइएको छ । हेरात प्रान्तमा पछिल्लो समयमा अफगान सेनाले संयुक्त कारबाही सुरु गरेको छ । सन् २०१४ को अन्त्यबाट नेटो सेनाले अफगानिस्तानबाट बिदा लिएको छ ।

अफगानिस्तानमा जारी तालिवानको द्वन्द्वमा अफगान सुरक्षाबलले नै कारबाही गर्दै आएको छ । यस कारबाहीको क्रम सरकारी सुरक्षाबलतर्फ कुनै हताहतीको समाचार भने नभएको जनाइएको छ । सुरक्षाबलले यस कारबाहीको क्रममा भारी मात्रामा हताहतियारसमेत बरामद गरेको बताइएको छ । अफगानिस्तानबाट नेटो सैनिक फिर्ता भएपछि पनि हिंसा रोकिएको छैन । पछिल्लो समयमा अफगान सैनिक र सर्वसाधारण नागरिकमाथि नै आक्रमणका घटनामा वृद्धि भएको छ ।