विश्व

ब्रसेल्स विमानस्थल मङ्गलबारबाट सुचारु हुने

बेल्जियम । बेल्जियमको राजधानी ब्रसेल्समा रहेको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल आउँदो मङ्गलबारबाट मात्र सुचारु हुने भएको छ । गतहप्ता भएको श्रृंखलाबद्ध विस्फोटपछि बन्द रहेको विमानस्थल अब मंगलबारबाट खुल्ने भएको छ ।

उक्त विमानस्थलमा गतहप्ता आतङ्ककारीहरुको आक्रमणमा परी ठूलो क्षति पुगेको थियो । बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल र भूमिगत मालबेक मेट्रो स्टेसनमा गएको मङ्गलबार भएको आक्रमणपछि त्यहाँको सुरक्षा व्यवस्था भने निकै कडा पारिएको छ । ब्रसेल्स प्रहरीले विस्फोटमा संलग्न भएको आशंकामा विमानस्थल आसपासबाट कैयौँ व्यक्ति पक्राउ गरी अनुसन्धान जारी राखेको छ ।

ब्रसेल्सको जाभेन्तम विमानस्थलमा आगामी मार्च २९, मङ्गलबारदेखि मात्र राष्ट्रिय र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानहरु पुनः सुचारु हुने जानकारी उक्त विमानस्थलले शनिबार दिएको हो । उक्त विमानस्थलको सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । साथै विमानस्थल सञ्चालनका लागि आगामी दिनमा नयाँ सुरक्षा मापदण्ड लागू गर्न लागिएको पनि विमानस्थल स्रोतले जानकारी दिएको छ । ब्रसेल्सको प्रान्तीय सरकारले सुरु गर्न लागेको भनिएको उक्त नयाँ सुरक्षा व्यवस्था कस्तो हो र विगतको तुलनामा के कस्तो सुधार गरिँदैछ भन्ने बारेमा भने केही बताइएको छैन ।

तर पनि यसअघि भएको सो हमलाका लागि त्यहाँको सुरक्षा व्यवस्थालाई नै बढी मात्रामा दोषी देखाइएको थियो । उक्त विमानस्थलको प्रस्थान कक्षमा सुरक्षा जाँचको प्रबन्ध पनि त्यति राम्रो नरहेको र यसै कारणले गर्दा नै सो आक्रमण भएको अनुमान गरिएको थियो । आक्रमण पनि सोही कक्षमा नै भएको थियो । त्यसमा परी मारिने व्यक्तिको सङ्ख्या ३५ पुगेको जानकारी त्यहाँको प्रहरीले दिएका छन् । घाइतेको अवस्था पनि गम्भीर रहेको छ । यस आक्रमणमा परी घाइते हुने व्यक्तिको सङ्ख्या २ सय ६० जनाभन्दा बढी रहेको जनाइएको छ । अधिकांश घाइते गम्भीर अवस्थामा उपचार गराइरहेका छन् । चिकित्सकहरुले अझै पनि बेहोस अवस्थामा रहेका घाइतेहरु दर्जनौँ रहेको जनाएका छन् । यस आक्रमणका दोषीको पहिचान भइसकेको छ ।

दोषीमाथिको कारबाहीका लागि प्रहरीले प्रक्रिया पनि सुरु गरेको छ । सो आक्रमणमा सम्लग्नमध्येका दुईको ज्यान गइसकेको छ । दुई दाजुभाइले ब्रसेल्सको विमानस्थल र मेट्रो स्टेसनमा छुट्टाछुट्टै हमला गरेका थिए ।  उक्त कारबाही आत्मघाती रहेकाले उनीहरु दुवै जना मारिएका छन् । प्राप्त पछिल्लो समाचारमा बिहीबार मात्र ब्रसेल्समा थप छ जना संदिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर पक्राउ परेका व्यक्तिको पहिचान भने उसले दिएको छैन । अधिकारीहरुले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा आक्रमणका प्रमुख दोषीको खोजी अभियान जारी नै रहेको बताएका छन् ।

प्रहरीले ब्रसेल्स र अरु कैयौँ नगरमा पनि व्यापक मात्रामा खोजी अभियान जारी राखेको जनाएको छ । आत्मघाती हमलामा सम्लग्न व्यक्तिको निवासस्थानको खोजी गरी उनीहरुसँग सम्बन्धित सूचना लिने काम प्रहरीले गरेको छ । यस आक्रमणपछि युरोपका विभिन्न देशमा पनि सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ । गत वर्ष फ्रान्सको राजधानी पेरिसमा भएको शक्तिशाली आतङ्कवादी हमलापछि युरोपमा विभिन्न देशमा सुरक्षामा कडाई गरिएको बताइएको छ ।  तिनै पेरिसका हमलाकारी एवम् योजनाकारहरुकै संलग्नतामा नै ब्रसेल्समा सो हमला गरिएको बताइएको छ । यसका कारण युरोपमा अरू देशको पनि सुरक्षामा कडाई गरिएको बताइएको छ ।