कला-साहित्य

आर्यन र दयाहाङको बक्स अफिसमा प्रतिस्पर्धा

काठमाडौं ।  शुक्रवारदेखि नेपाली बक्स अफिसमा अहिलेका दुई चल्तीका कलाकार आर्यन सिग्देल र दयाहाङ राईविच प्रतिस्पर्धा सुरु भएको छ । आर्यनको अभिनय रहेको ‘आवेग’ र दयाहाङले अभिनय गरेको ‘राहदानी’ प्रदर्शनमा आएसँगै उनीहरुको प्रतिस्पर्धा शुरु भएको हो ।
तर, यी दुबै कलाकार आ–आफ्नो चलचित्रको प्रमोशनमा देखिएका थिएनन् तर पनि दर्शकले भने आर्यन र दयाहाङको लडाइ भएको जनाएका छन् । बसन्त निरौलाको निर्देशन रहेको ‘आवेग’मा आर्यनको अतिरिक्त ध्रुव दत्त, अर्चना डेलाला र पवित्रा आचार्यको अभिनय छ । दुई मिल्ने साथीको कथामा बनेको भनिएको ‘आवेग’ द्वन्द्वप्रधान चलचित्र हो ।
दयाहाङको मुख्य भुमिका रहेको ‘राहादानी’को निर्देशन डब्बु क्षेत्रीले गरेका छन् । रुपा खनाल, विनिता घिमिरे, नबीन लम्साल लगायतका कलाकारको अभिनय रहेको यस चलचित्रमा बैदेशिक रोजगारमा जाने यूवाहरुको समस्या प्रस्तुत गरिएको छ ।
यी दुई चलचित्रबीच प्रतिस्पर्धा मात्रै छैन शुक्रबारबाटै जोन अब्राहम अभिनित हिन्दी चलचित्र ‘रक्की ह्यान्डसम’ र अंग्रेजी चलचित्र ‘ब्याट्सम्यान भर्सेज सुपरम्यान ‘पनि रिलिज भएका छन् । यी चार चलचित्र मध्ये नेपाली दुई चलचित्रलाई दर्शककले कत्तिको साथ दिनेहुन् त्यो भने भावी दिनले बताउने छ । प्रदर्शनमा आएको दिन दुई चलचित्रले औषध व्यापार गरेका छन् । शनिबार दुबै फिल्म हेर्ने दर्शक शुक्रबारभन्दा बढी नै थिए ।
चलचित्र राहदानी युनिटले  बिहिबार आयोजना गरेको चलचित्रको  प्रिमियरमा कषी मन्त्री हरिबोल गजुरेल लगायत चलचित्र हेर्न सिनेमा घर पुगेका थिए । फिल्म हेर्दा हेर्दै मन्त्री  गजुरेलले मन थाम्न नसकि डाँको छाडेर रोएका थिए । उनले चलचित्रको कथावस्तुले मन छोएको बताए । यता, वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘आवेग’ भने पूर्ण रुपमा व्यवसायिक धारमा तयार भएको छ ।