विश्व

राष्ट्रपति ट्रम्पका सल्लाहकारमा अर्थ विश्लेषक ल्यारी

एजेन्सी, २ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक सल्लाहकारमा टेलिभिजनमा आर्थिक क्षेत्रमा कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएका लरेन्स आलेन ‘ल्यारी’ नियुक्त हुने निश्चित भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । 

आर्थिक विश्लेषक मानिएका ‘टेलिभिजन पर्सनालिटी’ ल्यारी राष्ट्रपति ट्रम्पको आर्थिक सल्लाहकारको रुपमा नियुक्त हुने निश्चित भएको ह्वाइट हाउसका अधिकारीले जानकारी दिएका छन् । 

सत्तरी वर्षीय ल्यारी ह्वाइट हाउसको राष्ट्रिय आर्थिक परिषदका नयाँ निर्देशकका रुपमा रहने जनाइएको छ । उनले हालका आर्थिक सल्लाहकार ग्यारी कोहनलाई प्रतिस्थापन गरेका हुन् ।  

उनले सन् १९६९ मा रोचेस्टर विश्वविद्यालयबाट इतिहास विषयमा स्नातक गरेका थिए । पछि उनले फेडरल रिजर्भ बैंक अफ न्युयोर्कमा काम गरेका थिए ।  उनले व्यवस्थापन र अर्थतन्त्रसम्बन्धी काम गर्दै आएका छन् । यसअघि पनि उनले अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको प्रशासनमा बसेर काम गरेको अनुभव छ । 

उनी पछिल्लो समयमा स्वतन्त्र व्यापार नीति, खुला बजार तथा न्युन करसम्बन्धी विषयमा वकालतकर्ता र यस विषयका जानकारका रुपमा रहेका छन् ।