न्युयोर्क

नेवाः गुठीको आयोजनामा न्यूयोर्कमा म्हः पूजा

ज्याक्सन हाईटमा पहिलो पटक न्हुदया भिन्तुना पदयात्रा

न्यूयोर्क । नेवाः गुठी अमेरिकाको आयोजनामा न्यूयोर्कमा म्हः पूजा सम्पन्न भएको छ । न्हुदया भिन्तुना ११३८ (नेपाल सम्बतको सुरुवात) सँगै मनाईने म्हः पूजा शुक्रबार सामुहिक रुपमा मनाईएको हो । गुठीले विगत ११ वर्षदेखि न्यूयोर्कमा सामुहिक रुपमा म्हः पूजा मनाउँदै आएको छ । म्हः पूजाको विहान ज्याक्सन हाईट्समा न्हुदया भिन्तुना पदयात्रा गरिएको थियो । गुठीले आयोजना गरेको पदयात्रा धिमे बाजा, ब्यानर र पोस्टरसहित सहरको परिक्रमा गरेको थियो । पदयात्रामा नेवार समुदायका अगुवा, नेपाली समुदायका अगुवाका साथै नेपाली महावाणिज्य दुतावास न्यूयोर्कका पुष्पराज भट्टराई र दुत कृषु क्षेत्री तथा नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष मणि वाङ्देल राईको समेत उपस्थिति रहेको थियो । पदयात्रा सुरुहुनु अघि नेपाल सम्वत नयाँ वर्षको शुभकामना आदान प्रदान गरिएको थियो । न्यूयोर्कमा पहिलो पटक आयोजना गरिएको पदयात्रालाई सम्बोधन गर्दै गुठीका अध्यक्ष धर्मेन्द्र गोपालीले यस्तो पदयात्रा प्रत्यक वर्ष आयोजना गरिने जानकारी दिनुभयो ।
त्यस्तै बेलुकी न्यूयोर्कको क्वीन्सस्थित गुल्सन टेरेसमा आयोजित म्हः पूजा कार्यक्रममा न्यूयोर्कमा रहेका अधिकांश नेवार परिवार, विभिन्न संघसंस्थाका प्रतितिनिधिका साथै गैरनेवारहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा नेवार जातिको पहिचान झल्किने विभिन्न कार्यक्रमसमेत गरिएको थियो । म्हः पूजा सुरुहुनु अघि गुठीले औपचारिक कार्यक्रमका साथै विविध सांस्कृतिक कार्यक्रम पनि गरेको थियो । 
म्हः पूजा सुरु हुनु अघि औपचारिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा नेपाली महावाणिज्य दुतावासका महावाणिज्य दुत मधुकुमार मरासिनीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष लुईसाङ वाईवा तामाङको पनि विशेष उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन गुठीका महासचिव विजयमान सिं र श्रीया तुलाधरले सञ्चालन गरेका थिए । कार्यक्रममा उपस्थित भएका सम्पूर्णलाई धन्यवाद दिंदै गुठीका अध्यक्ष धर्मेन्द्र गोपालीले म्हः पूजाको महत्व र न्हुदया भिन्तुना पदयात्राको बारेमा प्रष्ट पार्नु भएको थियो । त्यस्तै गुठीका उपाध्यक्ष निर्मल प्रधानले म्हः पूजाको महत्वको वारेमा अनौपचारिक जानकारी गराउनु भएको थियो । 
औपचारिक कार्यक्रमपछि सुरु भएको म्हः पूजा सम्पूर्ण विधिसहित गरिएको थियो । कार्यक्रममा आवश्यक पर्ने अधिकांश समाग्रीहरु नेपालबाटै ल्याईएको आयोजकले जानकारी दिए । पूजामा प्रयोग गरिएका अधिकांश सामाग्रीहरु पूर्ण परम्परागत थिए । 
नेवारी समुदायमा म्हः पूजाको महत्व
नेपालका चाडपर्व मध्ये म्हः पूजा विशेष पर्वमा पर्छ । खासगरी नेवारी समुदायले मनाउने यो पर्वको विशेष अर्थ रहने गरेको छ । परिवारका सबै सदस्य भेला भएर गरीने म्हः पूजा आफ्नै शरीरको पूजा हो । नेवारी भाषामा म्हः को अर्थ शरीर हो । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको रुपमा यसलाई लिने गरिन्छ । मानव शरीर नै त्यस्तो चिज हो जसमा समग्र देवता, ऊर्जाशक्ति र विश्व ब्रम्हाण्ड हुने विश्वार गरिन्छ । त्यतिमात्र होइन आफूले आफैलाई चिन्न सक्नुपर्छ र आफ्नो उद्दार पनि आफैले गर्नु पर्छ भन्ने अर्थ यो पर्वले बोक्ने गरेको छ । 
परापूर्व कालमा दैवी प्रकोपबाट नेवारी समुदायमा ठूलो मानवीय क्षति भएपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा सुरु भएको किम्बदन्ती छ । 
शरीरमा शान्ति नभएसम्म जीवनले सार्थकता नपाउने मान्यता अनुसार पनि म्हः पूजाको महत्व रहेको छ । म्हः पूजाले आत्म शान्ति मात्र होइन वर्षभरी नै शरीरको सुरक्षा हुने विश्वास गर्ने गरिन्छ । 
म्हः पूजा गर्न परिवारका प्रत्येक सदस्यको लागि पूर्वसम्मुख पारेर एक÷एक वटा मण्डल बनाइन्छ । मन्डलामा खाने तेलको सानो घेरालाई बीचमा पारी त्यसपछि क्रमशः बाहिर अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको चामलको धूलो, त्यसपछि पानी र रंगीबिरंगी फूलका घेरा हालिन्छ । परिवारका सबै सदस्यलाई पुग्नेबाहेक म्हःपूजा गर्न बस्ने ठाउँभन्दा अगाडि सुकुन्दा, त्यसपछि धर्मदूत र अन्त्यमा कर्मदूतको लागि भनेर पनि मन्डला बनाइन्छ । घरमा भएका नाङ्लो, कुचो, जाँतो, घ्याम्पो, घडा आदिका लागि पनि मन्डला बनाइन्छ । मन्डलाहरुको अगाडि परिवारको जेठोदेखि क्रमबद्ध भएर परिवारका सबै सदस्य बसेपछि परिवारका मूलीले सबैलाई पूजा गर्दै रातो अक्षताको टीका लगाइदिन्छन् । त्यसपछि मूलीले एक पाथी अटाउने काठको नाप्ने भाँडोमा अक्षता, फलफूलका टुक्राहरु, सिंगो सुपारी र खुद्रा पैसा राखेर प्रत्येकको शरीरमा तीन पल्ट अभिषेक गर्छन् ।
त्यस्तै मण्डला छेउँमा ब्रह्मा, विष्णु, महेश्वर, यमराज, यमुनाको स्थापना गरिन्छ । आफ्नो शरीरका साथै ती देवी देवतालाई अक्षतालगायत सयपत्री फूलले पूजा गरिन्छ । नेवार समुदाय हिन्दू र बौद्ध धर्मावलम्बी छन् । बौद्ध अनुयायीले भने म्हःपूजा केही फरक तरिकाले गर्छन् । यस सम्प्रदायमा विभिन्न नौ किसिमका गेडागुडीको प्रयोग गरी मण्डल निर्माण गरिन्छ । सौर्यमण्डल गोलो भएकाले सोहीअनुरुप विश्व ब्रह्माण्डलाई प्रतिनिधित्व हुने गरी मण्डल निर्माण गरिन्छ । यमराज कुलदेवताको आराधना गरेर म्हः पूजासँगै दशै दिशाका लोकपालको पनि पूजा गरिने परम्परा छ ।
त्यस्तै म्हः पूजा नेपाल सम्वत् अर्थात नयाँ वर्षको सुरुवातको उपलक्ष्य पारेर मनाउने पर्व पनि हो । राष्ट्रिय विभूति शङ्खधर साख्वाले इसं ८८० बाट नेपाल सम्वतको सुरुवात गरेका थिए । यसैको उपलक्ष्यमा नेवार समुदायले म्हः पूजा अर्थात् आफ्नो शरीरको पूजा गरि सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरेको पाईन्छ ।