विश्व

केन्यामा राष्ट्रपतीय निर्वाचनको तयारी

केन्या, १९ असोज । केन्यामा यही अक्टोबर २६ मा नयाँ राष्ट्रपतिको निर्वाचनको हुँदैछ ।  उक्त निर्वाचनको मिति यसअघि सारेर अक्टोबर २६ का लागि तोकिएको हो ।  गएको अगस्त महिनामा भएको निर्वाचनको नतिजा सर्वोच्च अदालतले बदरगर्दै पुनः निर्वाचन गराउन आदेश दिएको थियो । त्यसपछि केन्यामा अर्को निर्वाचन गर्ने तयारी सुरु भएको हो । अधिकारीहरुले निर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको बताएका छन् । 
अघिल्लो राष्ट्रपतीय निर्वाचन त्रुटिपूर्ण र अवैधानिक भएको भन्दै अदालतले खारेज गरिदिएपछि अबको निर्वाचनलाई वैधानिक बनाउनेगरी विपक्षीहरुसँग पनि व्यापक परामर्श भएको बताइएको छ । 
प्रधानन्यायाधीश डेभिड मारागाले गत अगस्त ८ मा भएको राष्ट्रपतीय निर्वाचनबाट राष्ट्रपतिमा उहुरु केन्याटा निर्वाचित भएको भनी गरिएको घोषणालाई अवैध भएको फैसला गरेका थिए ।  
केन्याको विपक्षी गठबन्धन ‘नेशनल सुपर एलाइन्स’ को तर्फबाट राष्ट्रपति पदका उम्मेदबार बनेका नेता राइला ओडिङ्गाले केन्याटालाई विजयी घोषणा गरिएको निर्वाचन आयोगको निर्णयलाई बदर गर्न मागगर्दै सर्वोच्च अदालत गएका थिए ।  
निवेदनमा ओडिङ्गाले निर्वाचनका बेला निर्वाचन सामग्रीहरूको व्यापक दुरूपयोग भएको र यन्त्रहरू ह्याक गरेर अनियमितता गरिएको आरोप लगाएका थिए ।