विश्व

अमेरिकी हवाइ आमक्रणमा ८४ मारिए

सिरिया, १० असोज । इस्लामिक स्टेट्सको बलियो प्रभाव रहेको सिरियाको राका शहरनजिकै भएको अमेरिका आवद्ध हवाई आक्रमणमा कम्तीमा ८४ सर्वसाधारण मारिएका छन् । मारिएका यी ८४ व्यक्तिमा दर्जनौंको संख्यामा बालबालिका रहेका ‘ह्युम्यान राइट्स वाच’ले जानकारी दिएको छ । 
यस आक्रमणमा परी आईएस लडाकू पनि मारिएका छन् । तर ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको एचआरडब्लूले जानकारी दिएको छ । यस आक्रमणमा परी विद्यालयमा शरणार्थीकै रुपमा रहेका दर्जनौँ सर्वसाधारण मारिएका छन् । अमेरिका आवद्ध संयुक्त सेनाले यस इलाकामा सर्वसाधारण नागरिक भएको थाहा नभएको जानकारी दिएका छन् ।
एचआरडब्लूका अनुसार गत मार्च २० मा भएको मानसोउराहस्थित एक विद्यालयमा भएको हवाई आक्रमणमा १६ बालबालिकासहित ४० व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी तब्का बजार नजिकै मार्च २२ मा भएको अर्को एक आक्रमणमा १४ बालबालिकासहित ४४ व्यक्तिको मृत्यु भएको थियो ।
अमेरिका आवद्ध संयुक्त सेनाले सन् २०१४ को सेप्टेम्बरबाट सिरियामा हवाई आक्रमण शुरु गरेको छ । सिरिया र इराकमा सन् २०१४ देखि गत अगस्तसम्म अमेरिका आवद्ध संयुक्त सेनाले गरेको आतंककारी लक्षित हवाई  आक्रमणमा परी कम्तीमा ६२४ जना सर्वसाधारण मारिएका छन् । सिरियामा सन् २०११ को मार्च महिनाबाट सरकारको विरोध गर्दै शुरु जनआन्दोलन थालिएको थियो । 
त्यस जनआन्दोलनले पछि गृहयुद्धको रुप लिएको हो । हाल सम्म यहाँ ३ लाख ३० हजार व्यक्तिको मृत्यु भइसकेको छ । यस गृहयुद्ध अलकायदा र इस्लामिक स्टेट्स जस्ता आतंककारी समूहहरु हाबी हुँदै आएका छन् ।