विश्व

कोरियाली प्रायद्वीपमा तनाव बढाउने हर्कत नगरः चीन

एजेन्सी, ६ असोज । चीनले कोरियाली प्रायद्वीपमा जारी तनावलाई बढाउने हर्कत नगर्न सबैपक्षसँग आग्रह गरेको छ। उत्तर कोरियाले प्रशान्त महासागरमा हाइड्रोजन बम पड्काउने चेतावनी दिएपछि चीनले यस्तो आग्रह गरेको हो।

‘प्रायद्वीपको वर्तमान अवस्था एकदमै जटिल र गम्भीर छ,’ विदेश मन्त्रालयका प्रवक्ता लु काङले भने, ‘सबै पक्षले जिम्मेवारीपूर्ण तरिकाले व्यवहार गरे मात्रै आणविक मुद्दा सल्टिन सक्छ र त्यो क्षेत्रमा शान्ति र स्थायित्व पुनर्स्थापना हुनसक्छ।’

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदभन्दा बाहिरबाट कसैले लगाएको एकपक्षीय नाकाबन्दीको विरोध गर्ने पनि चीनले स्पष्ट पारेको छ। ‘कुनै पनि देशले सुरक्षा परिषदभन्दा बाहिरबाट लगाएको एकपक्षीय नाकाबन्दीको चीनले विरोध गर्दछ,’ काङले थपे।