विश्व

ओबामाले ट्रम्पलाई लेखेको चिठीमा के थियो ? (सिएनएनले सार्वजनिक गरेको चिठी)

अमेरिका, २० भदौ । संयुक्तराज्य अमेरिकामा निवर्तमान राष्ट्रपति बाहिरिने र नयाँको सत्तारोहण सौहार्दपूर्ण हुन्छ। पुरानाले नयाँलाई भेटेरै स्वागत गर्नुका साथै आफ्नै हातले चिठी लेखेर छाड्ने चलन पनि छ। निवर्तमान राष्ट्रपतिले उत्तराधिकारीका नाममा छाडेर जाने यस्तो चिठीमा खासगरी आफ्नो कार्यकालको अनुभव बाँड्दै नयाँ कार्यकालको निम्ति शुभेच्छा प्रकट गरिएको हुन्छ।

चिठीको भाषा र विषयवस्तु औपचारिक र अनुमान गर्न सकिने खालको भए पनि यो अमेरिकी राजनीतिको अटुट परम्परा हो। विषयवस्तुभन्दा धेरै बढी सत्ताबाट बाहिरिन लागेका व्यक्तिको उदारता र सौहार्दता यसले झल्काउने विश्वास गरिन्छ। सायद त्यही भएर, कसले कसको निम्ति कस्तो बेहोराको चिठी छाडेर गए भन्नेले अमेरिकी राजनीतिमा लामो समय अर्थ राख्छ।

यही सिलसिलामा अमेरिकी टेलिभिजन च्यानल सिएनएनले निवर्तमान राष्ट्रपति बाराक ओबामाले नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पका नाममा लेखेको चिठी आइतबार सार्वजनिक गरेको छ।

राष्ट्रपति ट्रम्पको सपथग्रहणका दिन ओबामाले ह्वाइट हाउसको ओभल अफिसमा छाडेको उक्त चिठीमा बधाइ र शुभकामना सन्देश मात्र छैन, अमेरिकी लोकतान्त्रिक संस्था र परम्परा दीगो राख्न सतर्क पनि गराइएको छ। विश्व व्यवस्थामा ‘स्थायित्व कायम राख्न’ ओबामाले ट्रम्पसँग आग्रह गरेका छन्।

‘ह्वाइट हाउस कार्यालय आफैंमा विशिष्ट छ, जहाँ सफलताको कुनै प्रस्ट खाका (ब्लुप्रिन्ट) छैन। मैले दिने सुझावहरू तपाईंको कार्यकालको सफलतामा सहयोगी होला कि नहोला, मलाई थाहा छैन,’ सिएनएनले सार्वजनिक गरेको ओबामाको चिठीमा भनिएको छ, ‘तैपनि, म विगत आठ वर्षका केही अनुभव यहाँ बाँड्न चाहन्छु।’

सिएनएनका अनुसार ओबामाले ह्वाइट हाउसकै लेटरप्याडमा उक्त चिठी लेखेका थिए। त्यसलाई ओभल अफिसको ‘रेजोलुट डेस्क’ को माथिल्लो घर्रामा छाडेर गएका थिए। अधिकांश अमेरिकी राष्ट्रपतिले प्रयोग गरेको १९ औं शताब्दीको यो टेबललाई ‘ओभल अफिस डेस्क’ पनि भनिन्छ।

चिठीमा ओबामाले घरेलु तथा अन्तर्राष्ट्रिय मामिलामा अमेरिकी राष्ट्रपतिले खेल्नुपर्ने अथाह भूमिकाको चर्चा गरेका छन्।

रियल स्टेट व्यवसायबाट आर्थिक रूपले सम्पन्न अर्बपति ट्रम्पलाई ओबामाले छाडेको पत्रमा भनिएको छ, ‘हामी दुवै आ–आफ्नो ठाउँमा भाग्यमानी छौं, हाम्रो भाग्य बलियो थियो, जसले हामीलाई यहाँसम्म ल्याइपुर्यायो। सबै यति नै भाग्यमानी हुँदैनन्।’

‘मिहिनेत गर्न चाहने सबै बालबालिका र परिवारको सफलताका लागि नयाँ नयाँ खुड्किला कसरी निर्माण गर्ने हाम्रै हातमा छ,’ उनले लेखेका छन्, ‘शीतयुद्ध अन्त्यदेखि नै निरन्तर विस्तार हुँदै गएको विश्व व्यवस्थामा हाम्रो पनि समृद्धि र सुरक्षा निर्भर छ।’

ओबामाले ‘लोकतन्त्रका आधारभूत संस्था तथा परम्परा संरक्षण’ मा पनि जोड दिएका छन्। दैनिक राजनीतिमा जतिसुकै खिचातानी भए पनि लोकतन्त्रका आधारभूत मान्यता र संस्था दीगो राख्नुपर्ने उनले औंल्याएका छन्।

ट्रम्पले ह्वाइट हाउस आएका केही व्यक्तिलाई उक्त चिठी देखाएका थिए। तीमध्ये कसैले चिठी उपलब्ध गराएको सिएनएनले जनाएको छ। यसबारे अमेरिकी सञ्चार माध्यमहरूले आइतबारै ह्वाइट हाउसको प्रतिक्रिया खोजेका थिए। ह्वाइट हाउसले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

विगतमा पनि निवर्तमान राष्ट्रपतिले नयाँ आउनेलाई यस्तै शुभेच्छा र सुझावसहितको चिठी छाडेर जाने परम्परा थियो। जब जर्ज डब्लू बुसले ओभल अफिस छाडेका थिए, उनले ओबामाका नाममा छाडेको चिठीमा लेखेका थिए, ‘यहाँ निरन्तर प्रयास गर्ने मौका सधैं हुनेछ। कहिलेकाहीँ आलोचकहरूले रिस उठाउने छन्। ‘साथीहरू’ ले नै निराश बनाउन पनि सक्नेछन्। जस्तोसुकै कठिन अवस्थामा ईश्वरको आशीर्वाद, परिवारको माया, देशको र मेरो साथ सधैं तपाईंसँग हुनेछ।’

ओबामाले ट्रम्पलाई परिवार र साथीहरूसँग समय बिताउन पनि सुझाएका छन्।

‘तपाईं र मेलानिया यो यात्रामा सँगसँगै हुनुहुन्छ, तपाईं एकअर्कासँग पर्याप्त समय बिताउनूस्, मिसेल र म सधैं यही चाहन्छौं,’ उनले लेखेका छन्, ‘तपाईंहरूलाई जस्तोसुकै अवस्थामा सहयोग गर्न हामी सधैं तत्पर रहनेछौं।’

उनले ‘गुड लक र गडस्पिड’ भनी ट्रम्पलाई शुभकामना दिँदै बाराक ओबामाको छोटकरी ‘बिओ’ लेखेर चिठी अन्त्य गरेका छन्।

ओबामालाई प्रतिस्थापन गरी अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले कार्यकाल सम्हालेदेखि नै ओबामा प्रशासनले गरेका निर्णय उल्ट्याउन बढी समय खर्च गरेका छन्। उनको जोड नै ओबामा प्रशासनका नीति–नियम परिवर्तन गर्नमा देखिन्छ।

यति हुँदाहुँदै ओबामाको चिठीबारे ट्रम्पले व्यक्तिगत रूपमा न्यानो प्रतिक्रिया दिएका छन्। एबिसी न्यूजसँग उक्त चिठीबारे कुराकानी गर्दै उनले यसलाई ‘सुन्दर’ र ‘जटिल’ भनेका थिए।

‘मैले उहाँलाई टेलिफोन गरेँ र मेरो निम्ति चिठीमा लेख्नुभएको विचारका लागि धन्यवाद दिएँ,’ ट्रम्पले भने।

सिएनएनले सार्वजनिक गरेको चिठीको पूर्ण बेहोरा यस्तो छः

प्रिय राष्ट्रपतिज्यू,

उल्लेखनीय सफलताको निम्ति बधाइ। दसौं लाख मान्छेको आशा तपाईंमा टिकेको छ। हामी सबै जुनसुकै पार्टीका समर्थक भए पनि तपाईंको कार्यकालमा समृद्धि र सुरक्षाको आशा राख्छौं।

ह्वाइट हाउस कार्यालय आफैंमा विशिष्ट छ, जहाँ सफलताको कुनै प्रस्ट खाका (ब्लुप्रिन्ट) छैन। मैले दिने सुझावहरू तपाईंको कार्यकालको सफलतामा सहयोगी होला कि नहोला मलाई थाहा छैन। तैपनि, म विगत आठ वर्षका केही अनुभव यहाँ बाँड्न चाहन्छु।

सबभन्दा पहिला त, हामी दुवै आ–आफ्नो ठाउँमा भाग्यमानी छौं। हाम्रो भाग्य बलियो थियो, जसले हामीलाई यहाँसम्म ल्याइपुर्यायो, तर सबै यति नै भाग्यमानी हुँदैनन्। त्यसैले, मिहिनेत गर्न चाहने सबै बालबालिका र परिवारको सफलताका लागि नयाँ नयाँ खुड्किला कसरी निर्माण गर्ने हाम्रै हातमा छ।

दोस्रो, आजको संसारमा अमेरिकी नेतृत्व अपरिहार्य छ। यो अवस्थामा शीतयुद्धको अन्त्यदेखि नै निरन्तर विस्तार हुँदै गएको विश्व व्यवस्थालाई आफ्नो काम र उदाहरणद्वारा स्थायित्व दिने जिम्मेवारी हाम्रै हो। विश्व व्यवस्थाको स्थायित्व हाम्रो आफ्नै समृद्धि र सुरक्षाको निम्ति पनि जरुरी छ।

तेस्रो, हामी यो कार्यालयका अस्थायी कर्मचारी मात्र हौं। हाम्रा पुर्खाले जुन कानुनी शासन, शक्ति बाँडफाँड, समानताको हक र नागरिक स्वतन्त्रताको निम्ति लडाइँ लडे र रगत बगाए, ती सबै लोकतन्त्रका आधारभूत संस्था तथा परम्परा हुन्। हामीले यो कार्यालयमा बसेर त्यस्ता लोकतान्त्रिक संस्था र परम्परा संरक्षणमा अभिभावकको भूमिका खेल्नुपर्छ। दैनिक राजनीतिमा जतिसुकै खिचातानी भए पनि लोकतन्त्रका आधारभूत मान्यता र संस्थालाई कम्तीमा अहिलेकै अवस्थामा बलियो राख्ने अभिभारा पनि हाम्रै हातमा छ।

र, अन्त्यमा, आफ्नो अत्यन्त व्यस्तता र जिम्मेवारीबीच पनि साथीहरू र परिवारको निम्ति समय निकाल्नुहोला। कठिन समयमा उनीहरू तपाईंको साथ हुनेछन्।

तपाईं र मेलानिया यो यात्रामा सँगसँगै हुनुहुन्छ। तपाईं एकअर्कासँग पर्याप्त समय बिताउनूस्, मिसेल र म सधैं यही चाहन्छौं। तपाईंहरूलाई जस्तोसुकै अवस्थामा सहयोग गर्न हामी सधैं तत्पर रहनेछौं।

शुभकामना।

गुडलक र गडस्पिड,

बिओ