न्युयोर्क

नेपाल आदिवासी चलचित्र अवार्ड ‘लोम्वा’लाई

गोकुल श्रेष्ठ/न्यूयोर्क

नेपाल आदिवासी चलचित्र अवार्ड–२०१७ मगर कला र संस्कृतिमा आधारित चलचित्र ‘लोम्वा’ ले प्राप्त गरेको छ । 

नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) को आयोजनामा अमेरिकाको न्यूयोर्कमा तीन दिन सम्म चलेको ‘नेपाल आदिवासी चलचित्र महोत्सव’ मा लोम्वाले अवार्ड जित्न सफल भएको हो । विश्व आदिवासी दिवसको सन्दर्भ पारेर फिप्नाले चलचित्र महोत्सव आयोजना गरेको थियो । चलचित्र महोत्सवमा ११ वटा चलचित्र प्रदर्शन गरिनुका साथै ११ विभिन्न विधामा पुरस्कार तथा ट्रफि प्रदान गरिएको हो । 
उत्कृष्ट चलचित्रका लागि लोम्वा, शेरढाक, कृष्णा गौतमी, हेलुक्वा र सेम ताबा म्ही नोमिनेशनमा परेका थिए । नोमिनेशनमा परेका अन्य चार वटा चलचित्रहरुलाई पछि पार्दै लोम्वाले अवार्ड हात पार्न सफल भएको हो । उत्कृष्ट चलचित्र अवार्ड फिप्नाका अध्यक्ष लुईसाङ डब्लु तामाङ र एनआरएन–अमेरिकाका उपाध्यक्ष रविना थापाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए भने अवार्ड ग्रहण मगर संघ अमेरिकाका सदस्य कुलद्वीप राना मगरले ग्रहण गरेका थिए । चलचित्र लोम्वालाई नगद एक लाख रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै वेष्ट एक्टरको उपाधी शेरढाक चलचित्रका नायक छेवाङ रिञ्जिङ गुरुङले प्राप्त गरेका छन् । उनले नोमिनेशनमा परेका मैरिमोका गमन घले, सेम तावा म्हीका रितुराज पाख्रिन, कृष्णा गौतमीका कर्मा शाख्य र लोम्बाका जनक बुढा मगरलाई पछि पार्दै उपाधी जितेका हुन् । त्यस्तै वेष्ट एक्ट्रेसको उपाधी मैरिमो चलचित्रकी नायीका सपना गुरुङले हात पारेकी छिन् । वेष्ट एक्ट्रेसका लागि मैरिमोसहित सेम तावा म्हीबाट शुष्मा थिङ, कृष्णा गौतमीबाट मेलिना मानन्धर, केलुक्वाबाट पुष्पा आङदेङवे र सुम्निमाबाट प्यारी राई नोमिनेशनमा परेका थिए ।
महोत्सवमा वेष्ट स्टोरीको उपाधी सुम्निमा चलचित्रका प्रविण पुमालाई प्रदान गरिएको थियो । यो अवार्डका लागि लोम्वाबाट अनिल बुढा मगर, सेम तावा म्हीबाट राजकुमार मोक्तान, शेर ढाकबाट छिरिङ रिञ्जिङ गुरुङ र कृष्णा गौतमीबाट रामकृष्ण खड्गी पनि नोमिनेशनमा परेका थिए । 
त्यस्तै चलचित्र सेम तावा म्हीका राजकुमार मोक्तानले वेष्ट म्युजिकको उपाधी हात पार्न सफल भएका छन् । उनले हेलुक्वाका गुरु आत्मानन्द लिङदेन, मैरिमोका तेजेन्द्र गुरुङ, सुम्निमाका बलराम समाल र कृष्णा गौतमीका रामकृष्ण खड्गीलाई पछि पार्दै उत्कृष्ण संगीत निर्देशकको उपाधी हात पार्न सफल भएका हुन् ।
महोत्सवमा उत्कृष्ट छायांकनको उपाधी भने सेम तावा म्हीले हात पारेको छ । कार्यक्रममा उक्त चलचित्रका छायांकार बिक्रम लामालाई उपाधी प्रदान गरिएको थियो । तर कार्यक्रममा उनको उपस्थिति भने थिएन । यो उपाधीका लागि सुम्निमाका युवराज राई, लोम्वाका जनक–शम्भु र कृष्णा गौतमीका रवि सायमी पनि नोमिनेशनमा परेका थिए । 


महोत्सवमा उत्कृष्ट सम्पादनको उपाधी भने कृष्णा गौतमीका बालकृष्ण बंशीले हात पार्न सफल भएका छन् । यो उपाधीका लागि तीनवटा चलचित्र नोमिनेशनमा परेका थिए । जसमा कृष्णा गौतमीसहित मैरिमो र सेम तावा म्ही रहेका छन् ।
त्यस्तै उत्कृष्ट भेषभुषाको नोमिनेशन चल

चित्र लोम्वा, सुम्निमा, सेम तवा म्ही, कृष्णा गौतमी र हेलुक्वा परेका थिए । नोमिनेशनमा परेका अन्य चार चलचित्रलाई पछि पार्दै उपाधी भने लोम्वाका अनिल बुढा मगरले प्राप्त गरेका थिए । 
त्यस्तै उत्कृष्ण चलचित्र निर्देशकको उपाधी चलचित्र लोम्वाका निर्देशक अनिल बुढा मगरले प्राप्त गरेका छन् । उनले मैरिमो, हेलुक्वा, सेम तावा म्ही र कृष्णा गौतमीलाई पछि पार्दै यो उपाधी हात पारेका हुन् । 
कार्यक्रममा उत्कृष्ण छोटो चलचित्रको उपाधी पुवालोले प्राप्त गरेको छ । यो उपाधीका लागि फेके र कल्ली पनि नोमिनेशनमा परेका थिए भने पब्लिक च्याईस अवार्ड सेम तावा म्हीले प्राप्त गर्न सफल भएको छ ।
महोत्सव शुक्रबार न्यूयोर्कको क्वीन्स स्थित गुल्सन टेरेसमा विशेष समारोहका बीच उद्घाटन गरिएको थियो । नेपालका आदिवासी चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्दै नेपालका आदिवासी चलचित्रहरु जो राज्य र मुलधारबाट सिमान्तकृत छन् त्यस्तो चलचित्रहरुलाई अन्तर्राष्ट्रिय बजारमा प्रबद्र्धदनका लागि महोत्सव आयोजना गरिएको आयोजकले बताएका छन् । महोत्सवले नेपालका आदिवासी जनजातिको भाषा, कला, संस्कृति, परम्परा र भेषभूषालाई अन्तराष्ट्रियकरण गर्न ठूलो टेवा पु¥याउने उनीहरुको अपेक्षा छ । 
महोत्सवका लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका थिए । महोत्सवमा सहभागिताका लागि दर्ता भएका ३९ चलचित्रहरु मध्येबाट ११ वटा चलचित्र छनौट गरिएको हो । लामा चलचित्रहरुमा हेलुक्व (लिम्बु), लोम्बा (मगर), कृषा गौतमी (नेवार) मैंरिमो (गुरुङ), सुम्निमा (राई), सेम ताबा म्ही (तामाङ) र शेरडा (मुस्ताङ्ग) रहेकाछन् । यसैगरी छनौट भएका लघु चलचित्रहरुमा फेके (मगुाल), बन्ठी (माझी), कल्ली (नेवार) र लाज (थारु) छनौटमा परेका थिए । चलचित्रहरुबाट सर्वाेत्कृष्ट चलचित्र, अभिनेता, अभिनेत्री, कथा, छायाँकार, सम्पादक, भेषभुषा, संगीत, निर्देशक र पब्लिक च्वाईसको बिभिन्न विधामा अन्तिम स्पर्धा गराईएको थियो । 
छनौटमा भएका सम्पूर्ण चलचित्रहरु महोत्सवमा प्रदर्शन गरिएको थियो । महोत्सवमा ‘सर्वाेत्कृष्ट आदिवासी राष्ट्रिय पुरस्कार २०१५’ बिजेता चलचित्र ‘मतान’ (राई) र ‘पब्लिक चोईस अवार्ड, आदिवासी जनजाति चलचित्र महोत्सव २०१७’ बाट पुरस्किृत ‘कर्म क्या’ (गुरुङ) को बिशेष प्रर्दशन गरिएको थियो । 
‘महोत्सवमा छनौट भएका चलचित्रहरु तीन चरणको छनौट प्रक्रियाबाट छानिएका हुन् । पहिलो चरणमा, सम्बन्धित समुदायको चलचित्र बोर्डले दर्ता र छनौट गरेको थियो भने दोश्रो चरणमा, नेपाल स्थित फिप्नाको काठमाडौँ सचिवालयले छनौट गरेको थियो र तेश्रो चरणमा, न्युयोर्क सचिवालयले चलचित्र विज्ञहरु मार्फत अन्तिम छनौट गरेको थियो । चलचित्र छनौट समितिमा डा. कृष्ण भट्टचन, छिरिङ रितार शेर्पा, अमृत योञ्जन, नबिन सुब्बा र अमृत बहादुर सुनुवार रहेका थिए । 
महोत्सवका लागि आदिवासी जनजाति चलचित्र महासंघ (फिन्फी), ईन्डिजिनियस फिल्मस् अर्काईभ (आईफा) र फिप्नाका सम्पूर्ण सदस्य संस्था सह–आयोजक रहेका थिए । त्यस्तै नेपाल चलचित्र विकास बोर्ड र नेपाली महावाणिज्य दूतावास, न्यूयोर्क महोत्सवमा बिशेष सहयोगी संस्था रहेका थिए ।
न्यूयोर्कको क्वीन्स अष्टोरियामा रहेको अडिटोरियम सेन्ट्रो स्पानोलमा आईतबार ढिला गरि सुरु भएको अवार्ड वितरण कार्यक्रममा चलचित्रकर्मी, नेपाली डायस्पोराका अगुवाहरु र आम दर्शकको उल्लेख्य सहभागिता रहेको थियो । फिप्नाले पहिलो पटक आयोजना गरेको यस्तो महोत्सव आगामी वर्षहरुमा भने निरन्तरता दिने अध्यक्ष तामाङले घोषणा गर्नु भयो । उपाधी विजेताहरुलाई कार्यक्रमका प्रायोजकहरुको हातबाट अवार्ड वितरण गरिएको थियो । ‘हामी आदिवासी’ भन्ने गीतको नाँचबाट सुरु भएको कार्यक्रममा अन्य दुई वटा नृत्य प्रस्तुत गरिएको थियो । उक्त महोत्सवको संयोजन फिप्नाका वरिष्ठ उपाध्यक्ष मणि वाङ्देलले गरेका थिए भने अवार्ड वितरण कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रशान एलुङ राई र विनिता तामाङले गरेका थिए । कार्यक्रमको अन्तमा केहि चलचित्रकर्मीहरुले आफूहरुले पुरस्कार नपाएको भन्दै आयोजकको आलोचना गरेका थिए ।