न्युयोर्क

अमेरिकाको टेक्सासमा भीषण समुद्री आँधी

न्यूयोर्क, ११ भदौ । अमेरिकाको टेक्सासमा आएको समुद्री आँधीका कारण जनजीवन प्रभावित भएको छ ।  हार्वे आधीका कारण एक जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । आधीका कारण २ लाख ३० हजार बढी प्रभावित भएको रोयटर्सले जनाएको छ । अमेरिकाको राष्ट्रिय आँधी केन्द्रले तुफानका कारण भारी वर्षा हुने र बाढी आउन सक्ने चेतावनी दिएको छ ।

प्रतिघण्टा २ सय १५ किलोमिटर प्रतिघण्टाको गतिमा रहेको तुफानले तटीय क्षेत्र बढी प्रभावित भएको जनाइएको छ । हार्वे आँधीका कारण तटीय क्षेत्रका केही घर भत्किएका छन् भने धेरै रुख ढलेका छन् । भत्किएका घरमा मानिस फसेको हुन सक्ने आशंका गरिएको छ ।

टेक्सासको तटीय क्षेत्रमा विद्युत् सेवा बन्द भएको छ । आँधीका कारण भएको आगलागीमा एक जनाको मृत्यु भएको छ । अमेरिकी मौसमविद्हरुले अबको केही दिन ठूलो पानी पर्ने बताएका छन् । आँधीका कारण रकपोर्ट शहर बढी प्रभावित भएको छ । अमेरिकामा पछिल्लो १२ वर्षमा आएको यो नै सबैभन्दा ठूलो समुद्री आँधी हो । 

मेक्सिकोको खाडीबाट सुरु भएको आँधीले हाल टेक्सस राज्यमा भारी वर्षा भराइरहेको छ । अबका केही दिनमा टेक्सास र लुइजियाना राज्यका तटीय क्षेत्रमा ३ फिटसम्म वर्षा हुनसक्ने मौषमविद्हरुले पूर्वानुमान गरेका छन् । आँधीले सबैभन्दा बढी प्रभावित पारेको टेक्सस राज्यमा अमेरिकाको प्रमुख तेल प्रशोधन केन्द्रहरु रहेका छन् ।
सन् २००४ मा अमेरिकामा आएको चार्ली नामक आँधीपछिको याे सबैभन्दा भीषण आँधी रहेको जनाइएको छ । त्यस्तै सन् १९६१ मा टेक्सासमा आएको कार्ला आँधीपछिकै याे सबैभन्दा ठूलो आँधीका रुपमा समेत लिइएको छ ।