न्युयोर्क

न्यूयोर्कमा दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्र निर्माणको तयारी

आर्थिक संकलनका लागि श्रीमदभागवत महापुराणको आयोजना

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्र निर्माणार्थ आर्थिक संकलनका लागि श्रीमदभागवत महापुराण आयोजना गरिने भएको छ । रिजउड नेपाली समाजको आयोजनामा न्यूयोर्कको ज्याक्सन हाईटस्स्थित सत्यनारायण मन्दिरमा यहि अगष्ट २३ देखि २९ सम्म श्रीमदभागवत महापुराण गर्न लागिएको हो । अमेरिकामा नेपालीहरुको उपस्थिति बढ्दै गएको अवस्थामा नेपाली कला, संस्कृति र परम्परा रक्षाका लागि सांस्कृतिक केन्द्रको आवश्यकता रहेको भन्दै त्यसको निर्माणार्थ आर्थिक संकलनका लागि महापुराण गर्न लागिएको संस्थाका अध्यक्ष रवि किरण कोईरालाले जानकारी दिनुभयो । मन्दिर र केन्द्र निर्माणले दोश्रो पुस्ताका लागि पनि नेपाली संस्कृति हस्तान्तरणमा उल्लेख्य टेवा पुग्ने उहाँको भनाई छ । 
श्रीमदभागवत महापुराण वाचन दीनबन्धु पोखरेलको प्रमुख वाचकत्वमा हुनेछ ।  समाजले यसको तयारीका लागि १००८ मूल समारोह समिति गठन गरेको छ भने २१ वटा उपसमिति निर्माण गरेको छ । संस्थाले महायज्ञबाट १० लाख अमेरिकी डलर संकलन गर्ने लक्ष्य राखेको छ । महायज्ञका लागि न्यूजर्सी, कनेक्टिकट र बोस्टनसम्मबाट पनि भक्तालुहरुको उपस्थिति हुने आयोजकले जानकारी दिएका छन् । संस्थाले यस अघि पनि दाताहरुसँगबाट सहयोग संकलन गरी मन्दिर तथा केन्द्रका लागि करिव ५ सय वर्ग क्षेत्रफलको जग्गा खरिद गरिसकेको छ । महायज्ञमा पूर्व दाताहरुका साथ विभिन्न साना साना दाताहरुबाट सयोग रकम संकलन हुने अध्यक्ष कोईरालाले जानकारी दिनु भयो । संस्थाले सानो सानो रकमबाट पनि आफ्नो लक्ष्य अनुसारको सहयोग रकम संकलन हुने अपेक्षा गरेको छ । त्यस्तै महायज्ञका लागि करिव ४० हजार डलर खर्च हुने संस्थाले अनुमान गरेको छ । 
महायज्ञ सुरु हुनु पूर्व रिजउडबाट ज्याक्सन हाईटसम्म कलस यात्रा गरिने अध्यक्ष कोईरालाले जानकारी दिनुभयो । तर बीचबाटोमा भने कलस यात्रा पैदल नहुने उहाँले प्रष्ट पार्नु भयो । 
रिजउड नेपाली समाज सामाजिक सेवाको क्षेत्रमा सक्रिय गैरराजनीतिक संस्था हो । यो नेपाल र नेपालीको धर्म, कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यसहित सन् २००३ मा स्थापना भएको थियो ।