विश्व

अमेरिकी सेनाको हवाइ कारबाहीमा ४३ जना मारिए

सिरिया, २२ साउन । अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने राक्वा सहरमा शनिबार गरेको आक्रमणमा परी कम्तीमा ४३ सर्वसाधारणको मृत्यु भएको छ। लडाकू विमानबाट राक्वाको आवास क्षेत्रलाई लक्षितगरी शनिबार मध्यान्ह हवाई आक्रमण गरेको सिरियाली सरकारी समाचार संस्था सानाले जनाएको छ। 

राक्वामै शुक्रबार राति सात बालबालिकाको मृत्यु भएको केही घण्टामा यो आक्रमण भएको पनि समाचार समितिले जानकारी दिएको छ। अमेरिकी गठबन्धन सेनाले आवास क्षेत्रमा लक्षित गरेर हवाई आक्रमण गर्ने गरेको र त्यसको विरुद्धमा बिगतमा लामो समयदेखि विरोध गरिएको भए पनि हवाई कारबाही भने निरन्तर नै रहेको सानाले उल्लेख गरेको छ। 

सिरियाली अरब रेड क्रिसेन्टकी राक्वास्थित प्रतिनिधि डिना असदलाई उद्धृतगर्दै सानाले राक्वाको राष्ट्रिय अस्पतालनजिकै पनि यस्तो आक्रमण भएको पुष्टि गरेकी छिन्।  सिरियाको विदेश मन्त्रालयले अमेरिकी नेतृत्वको गठबन्धनलाई यहाँबाट हटाउन संयुक्त राष्ट्रसङ्घमार्फत आग्रह गर्दै आएको छ।  सिरियामा सन् २०१४ देखि अमेरिकी नेतृत्वको गठबन्धनले कारबाही सुरु गरेको थियो।