न्युयोर्क

न्यूयोर्कमा राष्ट्रपतिको कार्यकारी आदेश सम्बन्धि सम्प्रेषणको अन्तरक्रिया

न्युयोर्क । अमेरिको न्यूयोर्कमा आप्रवासी सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । आप्रवासी नेपालीहरुको मुद्दा र सरोकारको विषयहरुमा सूचना तथा संचारमार्फत सामुदायिक सशक्तिकरणका लागि बहस गर्दै आएको टेलिभिजन कार्यक्रम सम्प्रेषणले अप्रिल २९ तारिखमा न्यूयोर्कको ज्याक्सन हाईट्समा कार्यक्रम सम्पन्न गरेको हो । सम्प्रेषणले विगत पाँच वर्षदेखि यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । ‘आप्रवासनमा राष्ट्रपतिको नयाँ कार्यकारी आदेशले कस्तो असर पार्न सक्ला तपाईको आप्रवासी जीवनमा ?’ शिर्षकमा अन्तरक्रियात्मक सामुदायिक बहस कार्यक्रम सम्प्रेषण कार्यक्रमका प्रस्तोता तथा निर्माता शैलेश श्रेष्ठले सञ्चालन गरेका थिए भने कानुनविद रमेश कुमार श्रेष्ठ र बिनोद रोका मुख्य वक्ताको रुपमा उपस्थित थिए । 
प्रारम्भदेखि ह्वाईट हिमाल टेलिभिजनमा प्रशारण भईरहेको सम्प्रेषणको यसपालीको सामुदायिक बहसलाई ह्वाईट हिमालको पेज र साझा टिभीले पनि फेसबुकको माध्यामबाट प्रत्यक्ष प्रशारण गरेको थियो । औपचारिक कार्यक्रमको आरम्भमा अन्तरक्रिया कार्यक्रमका सहप्रायोजक कुईन्स लाईब्रेरीका स्कुपिंग स्किल्स लाईब्रेरियन सेलिना शर्मिनले उपस्थित दर्शक श्रोताहरुलाई स्वागत गरेकी थिईन् । 
कार्यक्रममा राष्ट्रपति ट्रम्पले एक पछि अर्को गर्दै कागजपत्र नभएका आप्रवासीहरुलाई लक्षित गर्दै जारी गरेको कार्यकारी आदेश त्यसले नेपाली समुदायलाई पार्ने प्रत्यक्ष असर, शरणार्थी कोटामा स्थायी बसोबासका लागि गरेको आवेदन, ओबामा प्रशासनले कानुनी उन्मुक्ति दिएका कागजपत्रबिहिन नाबालकहरुको हैसियतका बारेमा प्रश्नहरु राखेका थिए । अन्तरक्रियात्मक सत्रमा सबैभन्दा बढी प्रश्न टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टी.पी.एस) पाएकाहरुले पनि ग्रीन कार्ड फायल गर्न पाईन्छ भनेर पछिल्लो समय पत्रपत्रिका र सामाजिक संजालमा आएको हल्ला र चर्चाको बारेमा आएका थिए । उक्त प्रतिनिधि प्रश्नको प्रतिउत्तरमा दुवै कानुनविदहरुले पाईन्छ या पाईंदैन भनेर जिकिर गर्न नमिल्ने कुरा बताएका थिए । उनीहरुको तर्क थियो, त्यस्तो निर्णय समग्रमा अथवा अमेरिकाको सबै राज्य या सहरमा लागु हुने गरि भएको होइन त्यो त केस बाई केस बेसीसमा अमेरिकाको एघार सर्किट कोर्ट मध्यको सिक्थ र नाईन्थ सर्किट कोर्टले मात्र त्यस्तो रुलिङ्ग गरेको हो । 
कुनै पनि प्रकारको अध्यागमन सम्बन्धि केस फायल गर्नु अघि अमेरिकी सरकार र बार एसोसियशनबाट मान्यता प्राप्त अनुभवी कानुनविदको सल्लाह लिएर मात्र कदम चाल्न उनीहरुले उपस्थित दर्शक श्रोताहरुलाई सुझाएका थिए । कुईन्स लाईब्रेरीको न्यु अमेरिकन प्रोग्रामले सहआयोजना गरेको सम्प्रेषणको उक्त सामुदायिक बहस कार्यक्रमलाई न्युयोर्कका सामाजिक संस्थाहरु तमाङ सोसाईटी अफ अमेरिका, मगर एसोसियशन न्युयोर्क च्याप्टर, किराँत राई एसोसियशन अफ अमेरिका र भोजपुर समाज अमेरिकाले सहप्रायोजन गरेका थियो ।