विश्व

उत्तर कोरियाले देखायो सैन्य शक्ति

एजेन्सी– उत्तर कोरियाले आफ्ना संस्थापक नेता किम इल सुङको १०५ औँ जन्म जयन्ती भव्य रुपमा मनाएको छ। किमको जन्म जयन्तीको अवसर पारेर उसले राजधानी प्योङयाङमा विशाल सैन्य परेडको आयोजना समेत गर्यो। किमको वर्षगाँठलाई ‘डे अफ द सन’का रुपमा मनाइन्छ । यो दिन उत्तर कोरियामा सार्वजनिक बिदा समेत हुन्छ।
‘डे अफ द सन’ अर्थात् किमको जन्म जयन्तीको अवसरका सैन्य शक्ति प्रदर्शन गर्दै उत्तर कोरियाले आफू जस्तोसुकै प्रमाणु आक्रमणको प्रतिकार गर्न सक्षम रहेको जनाएको छ। अमेरिकालाई चेतावनी दिँदै उसले यस्तो बताएको हो। उसले आफ्नो राजधानीमा कुनै पनि आक्रमण भए त्यसको जवाफ प्रमाणु अस्त्रले दिने बताएको हो।
अमेरिका र उत्तर कोरियाबीच पछिल्लो समय तनाव बढ्दै गइरहेको छ। यही तनाबका बीचमा उत्तर कोरियाले शनिबार विशाल सैन्य परेडको आयोजना गर्यो। ट्यांक, विमान तथा शक्तिसाली हतियारहरु प्रदर्शन गर्दै उसले आफ्नो शक्ति विश्वसामू प्रदर्शन गरेर अमेरिकाका अगाडि आफू नझुक्ने सन्देश दिएको छ।
‘डे अफ द सन’ मा सैनिकहरुले कवाज र मार्चपास पनि गरेका थिए। अमेरिकाले कोरियाली प्रायद्वीपमा युद्धपोत परिचालन गरिरहेकै बेला यो भएको यो शक्ति प्रर्दशनलाई विशेष महत्वका साथ हेरिएको छ।  त्यस्तै प्रदर्शनमा पनडुब्बीमा मारहन्ने ब्यालिस्टिक नामको क्षेप्यास्त्र पनि राखिएको थियो। प्रदर्शनमा सहभागी बिबिसीका पत्रकार जोन सर्डवर्थले आफूले पूरै सैन्य र रकेटको आक्रमणको एक प्रकारको अनुभव गरेको बताएका छन्। आफ्ना संस्थापकको जन्म जयन्तीलाई उत्तर कोरियाले विश्वभर आफ्नो शक्ति प्रदर्शन गर्ने अवसरका रुपमा लिएको बताइएको छ।
अमेरिका र उत्तर कोरियाबीचको तनवाले सबैलाई घाटा हुने भन्दै यसपटक चीनले परेडामा आफ्नो सहभागिता जनाएन। यसअघिका परेडहरुमा चिनियाँ अधिकारीहरु उपस्थित हुने गरेका थिए। चिनियाँ अधिकारीहरुले युद्धबाट नभइ शान्तिपूर्ण रुपमा समस्याको हल गर्न सुझाव दिएका छन्।