कला-साहित्य

लघुकथा- मोटे र सिकुटे

-आन्तोन चेखभ

अनुवादक : ससाङ लामा

निकलाएभ रेलवे स्टेशनमा दुई मित्रहरुको भेट भएको थियो : एकजना मोटे र अर्को चाँहीँ सिकुटे| मोटेले भर्खर मात्र स्टेशनमा खाना खाएको थियो, उसको चिल्लो ओठ पाकेको चेरी जस्तै चम्किरहेको थियो, उसबाट  शेरी(वाइन) र fleur D'orange  अत्तरको बास्ना मगमगाइरहेको थियो| सिकुटे पनि भर्खर मात्र बक्सा,पोका पन्तेरोहरु तन्द्र्यांङ तुन्द्रुङ पार्दै रेलबाट झरेको थियो| उसको मुखबाट ह्याम(सुंगुरको मासु)र सस्तो खाले कफीको गन्ध आइरहेको थियो| उसको पिठ्युं पछाडिबाट चिहाइरहेकी लामो चिउँडो भएकी दुब्ली,पातली आईमाई चैँ उसको स्वास्नी थिइ,अनि चिम्से आँखा भएको अग्ले स्कुले ठिटो चाँहीँ उसको छोरो थियो|

 -पर्फिरी ! - सिकुटेलाई देखेर मोटे चिच्याउंछ ! - तैं होस्?  यार !  नभेटेको पनि कति बर्ष भयो!
-हे भगवान !! तिनछक्क पर्‍यो सिकुटे ! - मिशा !  मेरो साथी !  कताबाट?

 दुई मित्रहरुले अंगालो मारेर गालामा तिनचोटी म्वाइ खाए, आँखाभरी आँसु पारेर एकार्कालाई हेराहेर गरे| दुवैजना दंग परेका थिए|

अभिवादनको रित पुरा भएपछि सिकुटे शुरु हुन्छ: मैले त चिताएकै थिइन! कस्तो अचम्भ! ल मलाई राम्ररी हेर त! म पहिले जस्तै सुन्दर,सहृदयी र झिल्के नै छु! हे भगवान ! अनि तेरो के हालचाल छ ? गाँठी टन्न कमाइस होला? बिहे गरिस? मैले त बिहे गरें, यि तैँले देखि हालिस! यी मेरी श्रीमती,लुइजा,  Wonzenbach खान्दानकी, लुथेरन,,, अनि यो मेरो छोरो,नफनाइल,तिन कक्षामा पढछ| बुझिस नफन्या!  उ मेरो बच्चैदेखिको साथी! स्कुलमा हामी संगै पढथ्यौँ|

 नफनाइलले केहीबेर सोच्यो र आफ्नो टोपी फुकाल्यो|

 सिकुटेले मोटेलाई भन्दै गयो - तंलाई याद छ? तंलाई के भनेर जिस्काउंथ्यो? स्कुलको किताबमा पपिरोसा(बिडी) झोस्यो भनेर तंलाई  Herostratus भन्थे भने, चाहिने नचाहिने चुक्ली लगायो  भनेर मलाई चाँहीँ  Ephialtes भन्थे, हा हा हा.. बच्चै थियौँ त्यतिबेला,,,,(छोरालाई)  'डराउनु पर्दैन नफन्या! उसको नजिक जा न! अनि, यो मेरो श्रीमती, Wonzenbach खान्दानकी,,,लुथरन|

 नफनाइलले केहीबेर सोच्यो र बाबुको पिठ्युँ पछाडि लुक्न गयो|

​ अनि कसरी बाँचिराखेको छ्स?- साथीतर्फ हेर्दै उत्साहित भएर मोटेले सोध्यो : कहाँ काम गर्दैछस? माथिल्लै तहमा पुगिस कि?

 -Assessor (निजामती आठौँ तह) को जागिर खाएको दुइबर्ष भयो|स्तानिस्लाभ तक्मा पनि भेट्टाएको छु|तर तलब कम्ती छ,,,तै पनि ठिकै छ,,श्रीमतीले संगितको कक्षा चलाऊँछे|काठको सिगरेटदानी बनाउने आफ्नै प्राइभेट काम छ| असाधै राम्रा सिगरेटदानीहरु! गोटाको १ रुबल दरले बेच्छु| यदी कसैले दश वा दशभन्दा बढी लग्यो भने दाम अलि होलो गर्छु|येनतेन चलिरहेको छ|बिभागमा पनि काम गरेँ र अहिले त्यही बिभाग अन्तर्गत शाखा अधिक्रित बनाएर मलाई यता सरुवा गरिएको हो|अनि तेरो नि! कहीं स्टाटस्की(निजामती तर्फ पांचौँ तह) त भइनस!?

  - अहं ! अझ त्योभन्दा माथि ! -मोटेले भन्यो - म प्रिभी काउन्सिलर(निजामती तेस्रो तह) भएको छु, दुइवटा तारा (बिभुषण) पनि पाएको छु|

 अचानक सिकुटे शिथिल भयो,जडवत भएर उभ्भियो,फराकिलो ङिच्च हंसाइले गर्दा उसको अनुहार झलझलाकार भएको थियो, उसको अनुहारबाट झिल्काहरु फुतुतु झरेको भान हुन्थ्यो| उ डल्लियो, कुप्रियो र खुम्चियो| उसको बक्सा, पोका पन्तेरो पनि खुम्चेको र मुजा परेको देखियो, स्वास्नीको लामो चिउंडो झन लम्बेर गयो, छोरो नफनाइलले जिउ तनक्क तन्काएर आफ्नो कोटको सबै टाँकहरु लगायो|

 -म, महामहिम,,,खुशी लाग्यो हजुर! बालककालको साथी भन्दा पनि हुन्छ,,, अचानक, हजुर त्यस्तो ठुलो ओहोदामा आसिन भै बक्सिएको रहेछ,,,ही ही,,हजुर ,,,

 - ल, ल, भयो, पुग्यो - मोटेले मुख बिगारयो - यस्तो बोली किन ? तं र म त बच्चै देखिको साथी! किन यो जी हजुरी ?!

 म माथि दया होस,,के भनी बक्स्या हजुरले,,, - अझ खुम्चन्दै सिकुटे ङिच्च हाँस्छ - यो त महामहिमको कृपालु निगाह,,,हजुरको अनुकम्पा भन्दा नि हुन्छ,,, महामहिम! यो मेरो छोरो नफनाइल, स्वास्नी लुइजा, लुथरन,केही हदसम्म,,,,

 मोटेले केही कुरामा प्रतिवाद गर्न खोज्यो,तर सिकुटेको अनुहारमा देखिएको गहिरो आदरभाव,खुशामद र चाप्लुसीले भरिएको श्रद्वा देखेर प्रिभी काउन्सिलरलाई वान्ता आउला जस्तो भयो| सिकुटेतर्फ उनले पिठ्युँ फर्काए, बिदाइको निमित हात बढाए|

 चिनियाँ झैँ खितखिताएर र पुरा जिउ नै निहुराएर सिकुटेले उनको तीन औँला समातेर हात मिलाए|स्वास्नी मुस्काइन|नफनाइलले खुट्टा मिलाउने क्रममा केपटोपी भुइँमा झार्यो |तिनैजना तिनदंग परेका थिए!

--------------------------------------------------------------------------------------------------------

विश्व प्रसिद्व रुसी कथाकार आन्तोन चेखभ (१८६०-१९०४)ले यो लघु कथा सन १८८० ताका लेख्नु भएपनि यो कथाले दिन खोजेको सन्देश अझैपनि सान्दर्भिक छ्| नेपाली लगायत विश्वका धेरै भाषाहरुमा यसको अनुवाद भैसकेको छ|चेखभेली कृतिहरुको बिगतमा भएका अनुवादहरुमा शाब्दिक अनुवादले गर्दा त्यसबाट भनेजस्तो रस टप्कन नसकेको हो कि भन्ने मेरो निजी ठनाइ छ| त्यसमाथि चेखभले प्रयोग गरेका कतिपय शब्दहरु शब्दकोषमा नभेटिन सक्छ| मौलिक रुसी भाषाबाट अनुवाद गरेको छु | यो लघु कथा अनुवाद गर्नलाई पनि मैले अक्टोबर क्रान्तिपुर्वको सामाजिक ढांचाबारे केही अध्ययन गर्नुपर्‍यो|मैले भावानुवादमा बढी जोड दिएको भएपनि चेखभेली शब्दावलीलाइ तोडमडोड गरेको छुइन|त्यस्तो दुस्सहास गर्ने कुरै भएन|यस कथामा दिइएका केही शब्दहरुको शब्दार्थ:-


-नफनाइल ( छोटकरीमा नफन्या)-हास्यस्पद रुसी नाम

 -मिशा (मिखाइलको छोटकरी)

-fleur D'orange अत्तरको नाम

-Wonzenbach जर्मन थर

-herostratus - एकजना पागल ब्यक्ती,जसले प्राचीनकालमा एफेसिसस्थित अर्टेमिस गिर्जाघर जलाएको थियो,जुन विश्वको सातौँ आश्चर्य मध्य एक थियो|

-Ephialtes - ग्रिकवासी,जसले आफ्नो देश बिरुद्व गद्वारी गरेका थिए|

-lutheran धार्मिक आस्था

-अक्टोबर क्रान्तिपुर्व रुसमा तल्ला तहका कारिन्दाले ठुला भारदारहरुसंग हात मिलाउँदा ख्याप्पै हात नसमातेर केवल तीन औँली मात्र पकडथ्यो |

-अक्टोबर क्रान्तिपुर्व रुसको निजामती सेवातर्फ १-१४ जागिरीय तह हुन्थे, जसानुसार १४ औँ तह चाँहीँ सबभन्दा तल्लो तह थियो| हाम्रो कथानुसार मोटे तेस्रो तहमा र सिकुटे आठौँ तहमा देखिन्छ |