विश्व

ग्वाटेमालामा आगलागीमा परी ४० को मृत्यु

एजेन्सी– मध्य अमेरिकी राष्ट्र ग्वाटेमालाको एक बालबालिका पुनःस्थापना केन्द्रमा गत बुधबार बिहान भएको भीषण आगलागीमा परी ४० किशोरीको मृत्यु भएपछि त्यहाँका समाज कल्याणमन्त्री कार्लोस रोडास्ले राजीनामा दिएका छन् ।
उनले आफूले घटनालगत्तै राजीनामा नदिएको र दुर्घटनाबाट बाँचेका व्यक्तिलाई उपचारको व्यवस्था र शरणार्थीस्थलको व्यवस्था मिलाएरमात्र राजीनामा दिएको बताएका छन् । सो आगलागी बालिका तथा किशोरी बसोबास गर्ने आश्रयस्थलतर्फ भएको थियो । बुधबार भएको यस आगलागीमा परी तत्काल १९ किशोरीको ज्यान गएको थियो भने अन्यको उपचारका क्रममा मृत्यु भएको हो ।
आगलागीमा परी ज्यान गुमाउने सबै १४ देखि १७ वर्षका किशोरी रहेको जनाइएको छ ।