न्युयोर्क

न्यूयोर्कमा होलीः रंग विना नै सम्पन्न भयो औपचारिक कार्यक्रम

न्यूयोर्क । मधेशी एशोसियसन इन अमेरिकाको आयोजनामा न्यूयोर्कमा होली विशेष कार्यक्रम सम्पन्न भएको छ । न्यूयोर्कको क्वीन्समा आओजना गरिएको होली विशेष कार्यक्रम यस पटक भने फरक रुपमा मनाईएको थियो । 
सप्तरीमा प्रहरीको गोलीबाट ५ जनाको मृत्यू भएपछि अहिले सिंगो देश शोकमा छ । खासगरी तराई मधेशका जनता अझै बढी शोकमा छन् । त्यसैले रंगहरुको पर्व होलीलाई मधेशी एशोसियसन इन अमेरिका (मा) ले औपचारिक कार्यक्रम रंग विना नै सम्पन्न गरेको थियो । होली विशेष कार्यक्रममा विभिन्न संगसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । तर कार्यक्रममा कुनै पनि रंगको प्रयोग गरिएन । कार्यक्रमको सुरुवातमा नै मृतकलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
भातृत्व, एकता र सद्भावको पर्व होलीलाई जीवन्त दिन र संकृतिको रक्षाका लागि आयोजित कार्यक्रमको पूर्वसन्ध्यामा सप्तरी घटनाले कार्यक्रमको स्वरुपमै परिवर्तन गर्नु परेको आयोजकले बताएका छन् । 
औपचारिक कार्यक्रमपछि सहभागिहरुले एकापसमा रंग लगाएर होलीको शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रम मा को ग्रेटर न्यूयोर्क च्याप्टरले आयोजना गरेको थियो भने कार्यक्रममा न्यूयोर्क र न्यूजर्सीका विभिन्न समुदायका महानुभावहरुको उपस्थिति रहेको थियो ।