विश्व

उत्तर प्रदेश र उत्तराखण्डमा भाजपाको पल्लाभारी

भारत, २९ फागुन । भारतका पाँच राज्यमा भएको विधान सभा निर्वाचनमा मिश्रित परिणाम आएको छ । उत्तराखण्ड र उत्तर प्रदेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) को दुई तिहाइभन्दा अत्यधिक बहुमत आएको छ । पञ्जाब राज्यमा कंग्रेस आईको बहुमत आएको छ भने गोवा र मणिपुरमा कडा प्रतिस्पर्धा भएको छ। यी दुई राज्यमा कसैको पनि बहुमत पुग्न सकेन । उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले राज्य विधानसभा चुनावमा आफ्नो दल सपाको हार स्वीकार गर्दै शनिबार साँझ राज्यपाल राम नाइकसमक्ष राजीनामा दिएका छन् । 
राज्यपाले उनको राजीनामा स्वीकार गर्दै नयाँ सरकार गठन नहुँदासम्म कार्यवाहक मुख्यमन्त्रीको काम गर्न निर्देशन दिएका छन्। अखिलेशले भने, ‘जनताको मतको सम्मान गर्छु । नयाँ सरकारले मेरो सरकारको भन्दा राम्रो काम गर्ने छ। किसानको ऋण माफ गरिए खुसी हुनेछन् ।’
उनले उत्तर प्रदेशका जनताले एक्सप्रेस ट्रेनको साटो बुलेट ट्रेन चाहेको भन्दै व्यंग्य पनि गरेका छन्। बसपाकी नेत्री मायावतीले चुनावका बेला मतगणना गर्ने मेसिनमा धाँधली गरिएको आरोप लगाएकी छन् ।
भारतको राजनीतिमा सर्वाधिक महत्वपूर्ण मानिने राज्य उत्तर प्रदेशमा ४०३ सिटमा ३७२ सिटको परिणाम घोषणा भइसकेको छ । त्यसमध्ये भाजपाले २८७ मा सिटमा विजय हासिल गरिसकेको छ । समाजवादी पार्टी (सपा) र कंग्रेस आई गठबन्धनले ५२ सिट हात पारेको छ । बहुजन समाजवादी पार्टी (बसपा)ले १७ सिटमा जित हासिल गरेको छ ।
पञ्जाब राज्यमा कुल ११७ सिटमा ११३ सिटको परिणाम सार्वजनिक भइसकेको छ । क्याप्‍टेन अमरिन्दर सिंहको नेतृत्वमा कंग्रेस आईले बहुमत हासिल गरेको छ। कंग्रेसले ७३ सिट जितेको छ । पञ्जाबको सत्तारूढ अकाली-भाजपा गठबन्धनले १८ सिट मात्रै जितेको छ। अरबिन्द केजरीवालको दल आम आदमी पार्टीले २० सिट ल्याएको छ । आम आदमी पहिलोपटक पञ्जाबमा सहभागी भएको थियो ।
उत्तराखण्डमा भाजपाको अत्यधिक बहुमत आएको छ । कुल ७० सिटमा ६४ सिटको परिणाम घोषणा भइसकेको छ । भाजपाले ५१ सिट ल्याएको छ भने कंग्रेसको ११ सिट आएको छ । मुख्यमन्त्री हरीश रावत दुवै सिटमा पराजित भएका छन् ।
गोवामा दुवै दलको कडा प्रतिस्पर्धा भएको छ । कंग्रेसले १४ सिट ल्याएको छ भने भाजपाले १२ सिट जितेको छ। मुख्‍यमन्त्री लक्ष्‍मीकान्त पारसेकरको पराजय भोगेका छन् । मणिपुरमा पनि दुवै दलको प्रतिस्पर्धा रहेको छ। कुल ५७ सिटमा ५३ सिटको परिणाम आइसकेको छ । कंग्रेसले २३ सिट र भाजपाले २० सिटमा जित हासिल गरेका छन् ।