न्युयोर्क

एनआरएनए अमेरिकाको चुनावी सरगर्मी

अध्यक्षमा १० जना प्रत्यासी
-प्रदिप परियार थापामगर
एनआरएन अमेरिका अर्थात गैरआवासीय नेपाली संघ अमेरिकाको आगामी मे महिना महिनाको २०÷२१ तारिखमा हुने नयाँ कार्यसमितिको निर्वाचनमा केन्द्रीय अध्यक्ष पदका लागि १० जना उम्मेद्वार हुने चर्चामा आएका छन् । आआफ्नो उम्मेद्वारी घोषणा गरेका र चर्चामा रहेकाहरुमा वर्तमान अध्यक्ष डा. केशब पौडेल, वर्तमान वरिष्ट उपाध्यक्ष कृष्ण पोख्रेल र ४ जना क्षेत्रीय उपाध्यक्षहरु रबिना थापा, बन्दना कोइराला, दिल्ली भट्टराई र राम सी. पोखरेलका अलावा गौरी जोशी, दुर्गा दाहाल, न्यूयोर्क च्याप्टरका अध्यक्ष तेम्बा शेर्पा र मनमोहन सिंह घिमिरेले उम्मेद्वारी घोषणा गरेका छन् ।
त्यसैगरी, हालसम्म उपाध्यक्ष पदको लागि सन्जिब श्रेष्ठ, सर्बज्ञ वाग्ले, सुमन बुढा मगर, पुरूषोत्तम बोहरा, हरिश हमाल र निमा ग्याल्जेन शेर्पाले उम्मेद्वारी घोषणा गरेका छन् भने महासचिब पदको लागि महेश मल्ल, बिआर लामा र शिव मल्लले दावेदारी गरेका छन् । उता सचिब पदमा हालसम्म होमनाथ गौतम, कोषाध्यक्ष पदमा रबिन बज्राचार्य र सहकोषाध्यक्ष पदमा पवन योन्जन तामाङले उम्मेद्वारी घोषणा गरेका छन् ।
त्यस्तै, न्यूयोर्क च्याप्टरको अध्यक्षमा केशबराम राई र रामहरी अधिकारीले दाबी गरेका छन् भने उपाध्यक्षमा बिष्णु राना मगरको नाम चर्चामा छ ।

नयाँ सदस्यता बितरण र नविकरणको समय सीमा मार्च १५ सम्म
यहीँ मार्चको १५ तारिखसम्म नयाँ सदस्यता बितरण र नविकरणको समयसीमा तोकिएको छ भने उक्त समयपछि चुनावी सरगर्मी बढ्ने पक्का छ । अमेरिकी एनआरएन संघको नेतृत्व हत्याउन बिगतमा फर्जी सदस्यता बनाउनेदेखि अनेक तिगडमलाई हेर्दा यसपालि पनि चुनाव जित्नकै लागि अनेक चलखेल हुने सम्भावना देखिएको छ ।

एनआरएनए संस्थाको जन्म
हाल विश्वका ७४ राष्ट्रहरुमा फैलिएको ‘गैरआवासीय नेपाली संघ (एनआरएनए)’ को जन्म सन् २००३ मा स्थापना भएको हो । तर एनआरएन अमेरिकालाई आफ्नै नाम र बलबुतामा उभिन झन्डै ७ वर्ष लाग्यो । सन् २०१० मा मात्र ‘एनआरएन एनसीसी अफ युएसए’ (एनआरएन अमेरिका) नाम बैधानिकरुपमा दर्ता भयो । तर यो बैधानिकता पनि आफ्नै नाममा भएको भने होइन ।

अर्को संगठनको गर्भमा जन्म
एनआरएन संघको विश्व सञ्जाल गठनपछि अमेरिका र क्यानाडाका एनआरएनहरुको प्रतिनिधित्व गर्दै आएको ‘नेपालिज अमेरिकाज काउन्सिल’ (एनएसी) को सन् १९९१ मा भएको दर्ता प्रक्रियालाई कायम गर्दै उक्त काउन्सिलको नाम परिवर्तन गरेर ’एनआरएन एनसीसी अफ अमेरिका’ बनाईएको हो ।
एनआरएन अमेरिकाको इतिहास खोतल्दै जाँदा यो संस्थाको जन्म ‘नेपालिज अमेरिकाज काउन्सिल’ (एनएसी)को कार्यकारिणी समितिको ताजबिजमा भएको देखिन्छ । सन् २००३ को अक्टोबरमा बेलायतको राजधानी लण्डनमा सम्पन्न एनआरएनहरुको पहिलो विश्व सम्मेलनमा उत्तर अमेरिकाबाट जम्मा तीन जना नेपालीहरु क्यालिफोर्नियाका इन्जिनियर शारदा थापा, कोलोराडोका इन्जिनियर राजा उपाध्याय र क्यानाडाबाट डा. कुञ्जर शर्माले भाग लिएका थिए । उक्त सम्मेलनमा त्यो उपस्थितिपछि एनआरएन संघलाई अमेरिकामा भित्र्याउने चर्चा र कसरत शुरु भएको थियो । शारदा थापा लण्डन सम्मेलनबाट गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्बय समिति (आईसीसी)का सदस्य निर्बाचित भए । पछि (२००५–२००७) मा उनी आईसीसी उपाध्यक्षसम्म बन्न पुगे ।
त्यतिखेर (२००३÷४) ‘नेपालिज अमेरिकाज काउन्सिल’ का अध्यक्ष थिए, मिचिगनका डा. गौरी अधिकारी । तर एनआरएन संघ र यसका मुद्दाहरुलाई अमेरिकामा भित्र्याउने गम्भीर ‘होम वर्क’ चाहिँ काउन्सिलका सन् २००५÷६ का अध्यक्ष डा. जितेन्द्र जोशीको पालामा शुरु भयो । यसैबीच, सन् २००७÷८ कार्यकालका लागि काउन्सिलका अध्यक्ष बने डा. अम्बिका अधिकारी । डा. अधिकारीको पालामा ‘गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्बय समिति’ का तत्कालिन अध्यक्ष डा. उपेन्द्र महतो र उनको कार्यसमितिसँग औपचारिक रुपमै सहमति गरेर एनआरएन संघ सरह काउन्सिलले मान्यता पाउने र काउन्सिलले उत्तर अमेरिकाभित्र पर्ने अमेरिका र क्यानाडाको प्रतिनिधित्व गर्ने निर्णय भयो । यता डा. अधिकारीले काउन्सिलअन्तर्गत एनआरएन मामिला हेर्ने उपसमिति नै खडा गरे । उक्त एनआरएन अफेयर्स हेर्ने समितिका अध्यक्ष डा. गौरी अधिकारी (मिचिगन), उपाध्यक्षहरु सुमनराज तिम्सिना (पेन्सल्भानिया) र रतन झा (टेक्सास) मनोनित गरिए । डा. अधिकारीकै पालामा क्यानाडाका नेपालीहरुले सन् २००८ को अगष्टमा छुट्टै अधिबेशन गरेर एनआरएन क्यानाडा गठन गरे । अब काउन्सिलले उत्तर अमेरिकाभित्र पर्ने अमेरिका र क्यानाडाको प्रतिनिधित्व गर्नु पर्ने अवस्था रहेन । उता काउन्सिलमा आवद्ध ३१ नेपाली संगठनहरु पनि सबै अमेरिकाकै रहेको अवस्था थियो ।

पखेटा फर्फराउँदै
काउन्सिलले प्रतिनिधित्व गर्दै आएको क्यानाडाली नेपालीहरुले छुट्टै र स्वतन्त्र एनआरएन संघ बनाएपछि अमेरिकामा पनि काउन्सिलभित्र र बाहिर अलग र स्वतन्त्र ‘एनआरएन संघ’ बनाउने दबाब र वतावरण सृजना हुन पुग्यो । जसको फलस्वरुप सन् २००९÷१० का लागि काउन्सिलको अध्यक्ष निर्बाचित बनेका न्यूयोर्कका डा. तारा निरौलाले काउन्सिलको नाम एनएसीसँगै फोर्वार्ड सेल्यास (र) एनआरएन एनसीसी अफ युएसए भनेर संस्थागत मान्यता प्रचलनमा ल्याए ।
उनले डा. अधिकारीभन्दा अझ एक कदम अगाडि सरेर अमेरिकाको ९ वटा क्षेत्रहरु छुट्याएर ति क्षेत्रहरुमा कुन कुन राज्यहरु पर्दछन् भनेर तोकी एनआरएन मामिला हेर्ने ९ जना बोर्ड अफ डाईरेक्टरहरु मनोनित गरे । उनले नियुक्त गरेका बोर्ड अफ डाईरेक्टरहरुमा बिष्णुमाया परियार (नर्थ इष्टर्न क्षेत्र, मासाचुसेट्स), कृष घिमिरे (मिड इष्टर्न क्षेत्र, मेरिल्याण्ड), डा. प्रकाश मल्ल (साउथ इष्टर्न क्षेत्र, जर्जिया), सन्जय श्रेष्ठ (मिड नर्दन क्षेत्र, इलिनोइस), बिजय बोखिम (मिड साउदर्न क्षेत्र, टेक्सास), श्रीराम दाहाल (नर्थ वेस्टर्न क्षेत्र, वासिङ्गटन), रोजर अधिकारी (साउथ वेस्टर्न क्षेत्र, क्यालिफोर्निया), डा. तुल्सी धरेल (इष्टर्न क्षेत्र टोरण्टो, क्यानाडा) र डा. बिनोद शाह (डाईरेक्टर एट लार्ज, न्यूयोर्क) थिए ।
डा. निरौलाले एनआरएन अभियानलाई अमेरिका ब्यापी बनाउन १५ अमेरिकी राज्यहरु र क्यानाडाबाट ३१ जनाको जम्बो सल्लाहकार समिति पनि निर्माण गरेर डा गौरी अधिकारी (मिचिगन), डा. आलोक के बोहोरा (न्यू मेक्सिको), डा. धारामेन्द्र ढकाल (टेन्नेसी), किरण ढुङ्गाना (क्यानाडा), डा. त्रिभुवन चौधरी (न्यू मेक्सिको), खगेन्द्र छेत्री (न्यूजर्सी), गिरिजा गौतम (टेन्नेसी), कुलचन्द्र गौतम (नेपाल), डा. जीतेन्द्र जोशी (क्यालिफोर्निया), माधबी बस्नेत कार्की (भर्जिनिया), डा. श्याम कार्की (मेरिल्याण्ड), नरेश कोइराला (क्यानाडा), डा. महेन्द्र लावोती (मिचिगन), डा. प्रशर मल्ल (क्यानाडा), खिलेन्द्र न्यौपाने (मेरिल्याण्ड), डा. प्रह्लाद पन्त (जर्जिया), अनिल प्रधान (क्यालिफोर्निया), डा. रुपक रौनियार (टेक्सास), मल्लिका शाक्य (डिष्ट्रिक अफ कोलम्बिया), डा. कुन्जरमणी शर्मा (क्यानाडा), नवाङ शेर्पा (न्यूयोर्क), भरतभक्त श्रेष्ठ (टेक्सास), रोहिनी शर्मा (अरिजोना), शीलु श्रेष्ठ (क्यालिफोर्निया), कृष्ण सोब (भर्जिनिया), अमृत सुनार (न्यूयोर्क), बिष्णुकुमारी थापा (मेरिल्याण्ड), डिल्लुराज थापा (ओरेगोन), प्रदीप थापा मगर (न्यूजर्सी), शारदा थापा (ईलिनोईस) र डा. सत्यनारायण यादब (न्यूयोर्क) थिए ।

प्रसव पीडा
यसैबीच, डा. निरौलाले दुई वर्षे कार्यकाल सम्हालेको ४ महिनाभित्रै अप्रिल महिनामा घरायसी काममा नेपाल जानु परेको कारण देखाउँदै काउन्सिलको अध्यक्ष पदबाट राजीनामा दिएपछि काउन्सिलको वरिष्ठ उपाध्यक्ष डा. सुमनराज तिम्सिना अध्यक्ष बनेका थिए । तिम्सिना अध्यक्ष बनेपछि उनले अमेरिकाको न्यूयोर्क, कनेक्टिकट, बोष्टन, वासिङ्टन डिसीलगायतका शहरहरुमा टाउन हल मिटिङ गरेर एनआरएन संस्था र अमेरिकी नेपालीहरुका मागहरु उपर सार्बजनिक सुनुवाई गरेका थिए । प्रायः सबै जसो टाउन हल मिटिङमा काउन्सिलले एनआरएन संघलाई काखी च्यापेर राख्न नहुने र एनआरएन संघलाई अलग संस्था बनाउनु पर्ने चर्को माग आएको थियो ।
एकातिर, काउन्सिलले एनआरएन अमेरिकालाई काखी च्यापेर राखेकै कारण एएनएले अलग एनआरएन मामिला हेर्ने कार्यालय नेपालमा समेत खोलेको घोषणा गरेको थियो भने नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले समाबेशी एनआरएन गठन नगर्ने हो भने अर्को एनआरएन खोल्ने भन्दै एक महिने अल्टिमेटम जारी गरेको थियो । दुई शक्तिशाली संस्थाहरुले समानान्तर एनआरएन संघ खोल्ने चेतावनी दिएपछि काउन्सिलले ‘ड्रास्टिक’ कदम चाल्नु पर्ने बाध्यताको सृजना भएको थियो । के थियो त त्यो परिवर्तनशील दूरगामी कदम ?

सेफ ल्याण्डिङ
सन् २०१० को जनवरी २८ तारिख बसेको ‘नेपालिज अमेरिकाज काउन्सिल’ (एनएसी) र ‘एनआरएन एनसीसी अफ यूएसए’ (एनआरएन अमेरिका) को कार्य समितिको संयुक्त बैठकले ‘एनएसी र एनआरएन एनसीसी अफ यूएसए’ को नाम परिवर्तन गरी स्वतन्त्र ‘एनआरएन एनसीसी अफ यूएसए’ बनाउने एतिहासिक निर्णय ग¥यो । सोही बैठकले काउन्सिलको बिधानलाई संशोधन गर्दै सन् १९९१ देखि क्रिशाशील र दर्ता अध्याबधिक रहेको काउन्सिलको दर्ता प्रक्रियालाई कायम गर्दै निरन्तरता दिने निर्णयसमेत गरेको थियो ।
यसरी सन् १९९१ मा स्थापना भएको ‘नेपालिज अमेरिकाज काउन्सिल’ (एनएसी) को संस्थापक अध्यक्ष डा. तुल्सी महर्जन (न्यूजर्सी) देखि डा. रमेश अमात्य (ओहायो), इन्जिनियर रोहिनी शर्मा (अरिजोना), डा. गौरी अधिकारी (मिचिगन), डा. जितेन्द्र जोशी (क्यालिफोर्निया), डा. अम्बिका अधिकारी (अरिजोना), डा. तारा निरौला (न्यूयोर्क) र डा. सुमनराज तिम्सिना (पेन्सिल्भानिया) सम्म आईपुग्दा उक्त काउन्सिल ‘एनआरएन एनसीसी अफ यूएसए’ को नाममा बिलय हुन पुग्यो । यसबीच, आफ्नै एनआरएन कार्यालय खोल्न पुगेको ‘एएनए’ संस्थाका हस्ती प्रल्हाद केसी एनआरएन अमेरिकाको अध्यक्ष बन्न पुगे भने एक महिनाको अल्टिमेटम दिने नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष शिवकुमार राई पनि एनआरएन अमेरिकाको अध्यक्ष बनिसकेका छन् ।

सदस्य संख्या कति ?
सन् २०१३ को मे महिनामा दोस्रो अधिबेशन आयोजना गर्दासम्म २८८ जना साधारण सदस्य रहेको एनआरएन अमेरिकाको अहिले सन् २०१५ को जनवरी ३१ सम्म १० हजार ६६३ साधारण सदस्य पुगेको अवस्था छ । तर यो साल नयाँ सदस्यता र नविकरण गर्नेहरुको संख्या कति पुग्ला ? यो जानकारीको लागि भने मार्च १५ सम्म कुर्नु पर्ने छ ।

नयाँ नेतृत्वको दायित्व
संघले नेपाल सरकार समक्ष माग गर्दै आएको नागरिकताको निरन्तरता अब नेपालको नयाँ संविधाननमा गैरआवासीय बिशेष नागरिकताको व्यबस्था भएबाट पुरा हुन पुगेको छ भने दोहोरो कर प्रणालीको अन्त्यका लागि अमेरिका र नेपाल सरकारबीच द्विपक्षीय वार्ताको लागि दवाब दिनु पर्ने देखिन्छ । यसैबीच, नेपाल सरकारले संघकै माग बमोजिम न्यूयोर्क शहरमा महावाणिज्यदूतावास सञ्चालनमा ल्याएको छ भने अन्य नेपाली घनाबस्ती रहेको अमेरिकी शहरहरुमा सोही सुबिधाको लागि पहल गर्नु पर्ने देखिन्छ । अर्कोतिर, अमेरिकी नेपालीहरुको लगानी र सीपलाई नेपालमा सदुपयोग गर्ने र अमेरिकी प्रबिधि, लगानी र ब्यापारलाई नेपालमा आकर्षित गर्ने सेतु (पूल) को रुपमा काम गर्ने महत्वपूर्ण दायित्व संघको काँधमा आएको छ ।

अतिथि सम्पादक प्रदीप परियार थापा मगर ‘युएस नेपाल अनलाईन डटकम’ का प्रधान सम्पादक र ‘जातीय विभेद र छुवाछुतको अन्त हाम्रै पालामा’ (इण्डअफकाष्ट डट कम) का अभियन्ता पनि हुन् ।