कला-साहित्य

काव्य स्रष्टा सम्मान व्याकुल माइलालाई

वालकलाकार अनुभव रेग्मीलाई सम्मान र छात्रवृत्ति 

काठमाडौं-  राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई व्याकूल माइलालाई काव्य स्कुल नयाँबानेश्वरले स्थापना गरेको काव्य स्रष्टा सम्मान २०७३ प्रदान गरियो । विद्यालयको वार्षिकोत्सवको अवसरमा राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक विशेष समारोहमा नगद २५ हजार राशी दोसल्ला र ताम्रपत्र सहितको सो सम्मान व्याकूल माइलालाई प्रदान गरिएको हो । 
पुर्व शिक्षामन्त्री एवम् वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित, शिक्षा मन्त्रालयका सहसचिव सुर्यप्रसाद गौतम, विद्यालयका संस्थापक अध्यक्ष धर्मेन्द्रप्रकाश राजभण्डारी तथा संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले सो सम्मान प्रदान गरेका थिए । कार्यक्रममा विद्यालयका निर्देशकहरु रिजन खड्का,प्रेमराज अर्याल, दिलिप थापा र सुनिलकुमार घर्ती पनि सहभागी थिए । यसअघि काव्य स्रष्टा सम्मानबाट राष्ट्रकवि माधवप्रसाद घिमिरे तथा इतिहास तथा संस्कृतिवीद सत्यमोहन जोशी सम्मानित भईसकेका छन् । 
सोही समारोमा काव्य स्कुलमा कक्षा ४ मा अध्ययनरत वालकलाकार अनुभव रेग्मीलाई दासल्ला तथा ताम्रपत्रद्धारा सम्मान गर्नुका साथै उनलाई अब ५ कक्षामा पढ्दा सम्पूर्ण शैक्षिक शुल्क मिनाहा गर्नुका साथै अन्य खर्चमा ५० प्रतिशत छात्रवृत्ति सहितको पुरस्कार दिइएको विद्यालयका संस्थापक प्रिन्सिपल बास्कोटाले घोषणा गरे । वालकलाकार रेग्मीले नाइ नभन्नु ल, भिसा गर्ल, ए मेरो हजुर २ लगायत ९ वटा चलचित्रमा खेलेका छन् ।  
कार्यक्रममा पुरस्कृत व्यक्तित्व व्याकुल माइला, सहसचिव  गौतम, र्पुवमन्त्री प्रश्रितका साथै विद्यालयका संस्थापक अध्यक्ष राजभण्डारी, संस्थापक प्रिन्सिपल बास्कोटा, कक्षा १० का विद्यार्थी अनुशरण अर्याल लगायतले बोल्नुका साथै विद्यार्थीहरुले कराते, उसु प्रदर्शन गर्नुका साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।