न्युयोर्क

ट्रम्पको अर्को तमासा, ह्वाइट हाउसमा मिडियालाई प्रतिबन्ध !

न्यूयोर्क– केही मिडियामाथि आक्रोशित बन्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वतन्त्र पत्रकारिताविरुद्ध खरो रुपमा उत्रिएका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएको प्रत्रकार सम्मेलनमा छानी छानी केही मिडियालाईमात्र प्रवेश गराइनुले उनको आक्रोश छताछुल्ल भएको हो ।

ह्वाइट हाउसमा भएको अनौपचारिक पत्रकार सम्मेलनमा भाग लिन त्यहाँका धेरै प्रशारण माध्यम तथा अखवारका सम्बाददातालाई प्रतिबन्ध लगाइए हो । प्रतिबन्ध लगाइएका सञ्चार माध्यामहरुहरुमा बीबीसी, सीएनएन, न्यु योर्क टाइम्स, पोलिटिको, बजफिड लगायत छन् ।
यी मिडियाहरुलाई पत्रकार सम्मेलनमा किन रोक लगाइएको हो भन्ने बारे  कुनै आधिकारिक कारण भने दिइएको छैन । राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिको आलोचना गरेकाले रोक लगाएको हुन सक्ने अनुमान गरिएको छ । यो घटना राष्ट्रपति ट्रम्पले मेरिल्यान्डमा आयोजित एक कार्यक्रममा मिडियाविरुद्ध कडा आक्रमण गर्दै ‘फेक न्युज’ अमेरिकी जनताको शत्रु भएको बताएको केही घण्टा पछि भएको हो ।

यस अघि पनि सीएनएन तथा न्युयोर्क टाइम्सलाई ट्रम्पले  आक्रमण गरेका थिए । हालै ट्रम्पका सहयोगीहरुले गुपचुप रुपमा रसियाका अधिकारीहरु सँग सम्पर्क गरेको बारेको रिपोर्ट प्रकाशित गरेपछि ट्रम्पले आक्रोश पोखेका थिए ।

शुक्रबारको ट्रम्पको सम्बोधन लगत्तै ह्वाइट हाउसमा प्रबक्ता सिन स्पाइसरले आफ्नो कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा फक्स न्युज, एबीसी न्युज, रोयटर्स, ब्रिटबाट न्युज र दि वासिङटन पोस्टलाई मात्र छानीछानी पत्रकार सम्मेलनमा प्रवेश दिइएको थियो । केही सञ्चार माध्यामलाई पत्रकार सम्मेलनमा प्रवेश निधेष गरेपछि ह्वाइट हाउसको अपमानजनक ब्यवहार असन्तुष्टि जनाउँदै दि एसोसिएटेड प्रेस, यूएसए टुडे, टाइम्स म्यागेजिनले भने पत्रकार सम्मेलन बहिस्कार गरका थिए ।