विश्व

कार बम विस्फोट, चौध जनाको ज्यान गयो

सोमालियो– सोमालियाको मोगादिसुको एक व्यस्त चौबाटोमा विस्फोटक पदार्थले भरिएको एक कार आइतबार विस्फोट हुँदा कम्तीमा १४ व्यक्तिको मृत्युभएको जानकारी अधिकारी तथा प्रत्यक्षदर्शीले दिएका छन् । स्थानीय सुरक्षा अधिकारी मोहमद जिलिबीले आफूहरूले १४ व्यक्तिको मृत्यु भएको गणना गरेको र अन्य ३० घाइते भएको पाएको बताए । उनले चौबाटोमा विस्फोटको समयमा धेरै बालबालिका रहेको जानकारी दिए ।
प्रधानमन्त्री मोहमद अब्दुल्लाही मोहमद निर्वाचित भएपछि सोमालियाको राजधानीमा भएको यो सबैभन्दा ठूलो विस्फोट हो । गत साता शासन हस्तान्तरण भएपछि अल सबाब इस्लामीहरूले अनेकौँ मोर्टार विस्फोट गराएको दाबी गरेको छ ।अर्का अधिकारी दाहिर अहमदले मृत्यु हुनेको सङ्ख्या निकै उच्च भएको बताए र १० व्यक्तिको मृत्य भइसकेको पुष्टि भएको जानकारी दिए ।
प्रत्यक्षदर्शीले मोगादिसुको दक्षिणी मदिना जिल्लाको नागरिक तथा व्यापारीको व्यस्त स्थानमा बम लक्षित भएको जानकारी दिए । प्रत्यक्षदर्शी सुमायो मौलिमले सडकको किनारा, चियापसल तथा रेस्टुराँमा ठूलो सङ्ख्यामा साना व्यापारी रहेको, त्यहाँ सुरक्षा तथा पसलेहरूको भीड रहेको र विस्फोट निकै ठूलो भएकाले करिब २० व्यक्तिको मृत्यु भएको जानकारी दिए । उनले मर्नेमा प्रायः नागरिक रहेको बताए । (एजेन्सी)