कला-साहित्य

भ्यालेण्टाईन गिफ्ट

भ्यालेण्टाइन गिफ्ट
कुनै कम्पनीको ब्राण्डेट गिफ्ट
मसँग छैन प्रिये
कि म तिमीलाई आज
‘ह्याप्पी भेलेन्टाइन डे’ भनि
विस गर्न सकूँ ।

कति खोज्छ्यौ
राक्षसजस्ता मान्छेहरूको भीडमा
मुटुजस्ता राता गुलाबका फूलहरू
भैगो छोड
यसपाला मेरो मुटु लैजाऊ
जो गुलाबभन्दा कम छैन ।
थाह छैन म तिम्रो सफ्टवेयरभित्र
कतिखेर डाउनलोड हुनसक्छु
थाह छैन म सेभ हुने फाइलमा
फ्रि मेमोरी कति छ
बस्, यति भन्न सक्छु कि
हरपल, हरक्षण, हरघडी
म तिम्रो खातिर
अप्डेट भइदिन सक्छु ।
फूलहरूको बगैंचामा
रसले मातिएर गति छाडनु छैन मलाई
बस्, मेरो जीवनको कलशमा आएर फूल्देउ यसपल्ट ।
आफू त ठूलो केपीसिटी भ’को मन्छे
भाइरसवाला मन बोकेर आयौ भने पनि
म कहिल्यै ह्याङ्ग हुने छैन ।
किन था छ ? 
मैले मेरो मनको कुनाकुनामा
तिम्रै प्रेमको एन्टीभाइरस राख्याछु ।
साँच्चै
म तिम्लाई कहिले पनि 
सटडाउन हुन दिने छैन
चाहे मेरो जीवनको यूपिएस्
तिमी अन हुनमा खर्चिन किन नपरोस् ।
अर्थात्
मेरो जीवनको लाइफटाइम भौचर
तिमीलाई ‘भेलेन्टाइन डे’ गीफ्ट ।

- पुकार पारदर्शी 
कालिम्पोङ, भारत