न्युयोर्क

डा. बिष्णुमाया परियार डाईभर्सिटी तथा ईन्क्लुसन सल्लाहकार बोर्डमा नियुक्त

अमेरिका– एड्वान संस्थाकी संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता डा. बिष्णुमाया परियार अफिस अफ डाईभर्सिटी ईन्क्लुसन बोर्डको सल्लाहकारमा नियुक्त भएकी छन् । न्यूजर्सी राज्यको जर्सी सिटीका मेयर स्टेफन फुलपले डा. परियारलाई सल्लाहकार बोर्डमा नियुक्त गरेका हुन् । मेयर स्टेफनले कार्यकारी आदेश जारी गरी गर्दै डा. परियारलाई सल्लाहकार बोर्डमा नियुक्त गरेको पुष्टि गरेका हुन् । १२ सदस्यीय सल्लाहकार बोर्डमा साउथ एशियन कम्यूनिटीबाट डा. परियारलाई नियुक्त गरिएको हो ।

लामो समयदेखि सामाजिक अभियान्तको रुपमा काम गर्दै आएकी डा. परियार  हाल जर्सी सिटीस्थित केयर पोईण्ट हेल्थ ग्रुप संस्थामा घरेलु हिंसा र साउथ एशियन कम्यूनिटी हेर्ने आउटरिच को–अर्डिनेटरको रुपमा कार्यरत छिन्  । डा. परियारको संस्था एड्वान (ADWAN.ORG) ले नेपालका दलित र सीमान्तकृत समुदायका महिला र बालबालिकाहरुको सशक्तिकरण र शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

एड्वान संस्थाले गरेको कामको मुल्यांकन गर्दै अमेरिकाकै जर्जिया राज्यको लुइसभिल शहरका मेयर ग्रेग फिसरले सन् २०१५ मा ‘सेप्टम्बर २७ तारिख’लाई ‘डा. बिष्णु माया परियार डे’ घोषणा गरेका थिए । त्यस्तै, मेयर फुलपले सन् २०१५ को जुलाई २४ तारिखका दिन डा. परियार संस्थापक अध्यक्ष रहेको वोमन फर कज संस्थालाई जर्सी सिटी काउन्सिलबाट ‘सिटी प्रोक्लेमेसन’द्वारा कदर गरेका थिए।

दुई वर्षको पदावधी रहेको उक्त सल्लाहकार बोर्डको को–चेयरमा काउन्सिल पर्सन एट–लार्ज जोएस वाटरम्यान र प्रमुख डाईभर्सीटी अफिसर रेगिनाल्ड मेकारीया नियुक्त गरिएका छन् भने मेयरद्वारा नियुक्त सल्लहाकार सदस्यहरुमा माईकल काबिली, अलेक्जाण्डर मागालोन, डेभिड ए रोसेन, चिपो साचिरार्वे र डा. बिष्णुमाया परियार रहेका छन् । त्यस्तै, अन्य सदस्यहरुमा एक्स्–अफिसियो मेम्बर र सिटीको विभिन्न विभागका प्रतिनिधिहरु छन् ।

जर्सी सिटीमा सांस्कृतिक, भाषिक, लैंगिक क्षेत्रको आधारमा हुने विभेदको अन्त्य गर्न अफिस अफ डाईभर्सिटी ईन्क्लुसन बोर्डको स्थापना भएको हो । यसले शिक्षा, रोजगारी र आर्थिक अवसरको समान पहुँचमा सुनिश्चिता गर्नुका साथै  सांस्कृतिक, भाषिक, लैंगिक क्षेत्रको आधारमा हुने गरिने विभेदको अन्त्य गर्नकाको विभिन्न नीति नियमको तर्जुमा गर्नुका साथै कार्यान्वयनका लागि प्रभावकारी भूमिका निभाउँदै आएको छ ।

तस्वीरः प्रदीप थापा परियार