न्युयोर्क

एकता दिवसको नाममा नेपाली डायस्पोरा विभाजित

  • सरकारी कर्मचारी सरकारकैविरुद्धमा
  • कांग्रेस र एमाले निकट संगठनबाट कार्यक्रम बहिस्कार
  • जनजातिलगायत अन्य संगठनबाट विरोध

गोकुल श्रेष्ठ/न्यूयोर्क
पृथ्वी जयन्ती र एकता दिवस मनाउने विषयले अमेरिकी नेपाली डायस्पोरा दुई धारमा विभाजित भएको छ । एकाथरीले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माता र एकताका प्रतिकको रुपमा देवत्वकरण गर्दै उत्सव मनाए भने अर्काथरीले उनले गरेको एकीकरण अन्यायपूर्ण भएको भन्दै पुर्नमूल्यांकन गर्नुपर्ने भन्दै विरोध जनाए । खास गरी गैर आवासीय नेपाली संघ अमेरिकाको आयोजनामा गरिएको एकता दिवसले नेपाली डायस्पोरालाई थप विभाजित बनायो । गैर राजनीतिक चरित्र बोकेको एनआरएनले यस्ता राजनीतिक अभिष्ठ जोडिएको मुद्दालाई जोडतोडले उठाएपछि सिंगो एनआरएनए नै विवादित बनेको छ । समग्रमा एकता दिवसले नेपाली डायस्पोरालाई विभाजित गरेको छ भने एनआरएन अमेरिकाको नेतृत्वप्रति गम्भीर प्रश्न खडा भएको छ ।
गतसाता एनआरएन अमेरिकाले आयोजना गरेको पृथ्वी जयन्ती तथा एकता दिवस नेपाली कांग्रेस र नेकपा एमाले निकटका संगठनहरुले बहिस्कार गरे भने आदिवासी जनजाति महासंघ, संघीय समाजवादीलगायतका जनजाति संघ संगठनहरुले विरोध गरे । दशौं हजार सदस्य रहेको दावी गर्ने एनआरएन अमेरिकाले आयोजना गरेको कार्यक्रममा मुस्कीलले दुई दर्जनको उपस्थिति रह्यो ।
सरकारी कर्मचारी सरकारकै विरुद्धमा
उता नेपाल सरकारले पृथ्वी जयन्ती तथा एकता दिवस मनाउन जरुरी नभएको निष्कर्ष निकालिरहेका बेला न्यूयोर्कमा रहेका नेपाल सरकारका अधिकारीहरु भने यो जयन्ती मनाउन अग्र पंक्तिमा उभिएका थिए । पुस २७ लाई एकता दिवस वा पृथ्वी जयन्ती मनाउन जरुरी नभएको निष्कर्ष सहित सार्वजनिक विदा वा अरु कुनै औपचारिक तथा अनौपचारिक कार्यक्रम समेत नगरिएको अवस्थामा न्यूयोर्कस्थिति नेपाली महावाणिज्य दुतावासका अधिकारीहरु भने सरकारको नीति तथा भावना विपरित अभिव्यक्ति दिंदै उत्सव मनाईरहेका थिए ।
गतसाता गैर आवासीय नेपाली संघ अमेरिकाले आयोजना गरेको एकता दिवसमा नेपाली महावाणिज्य दुतावासका पुष्पराज भट्टराई र कृसु क्षेत्रीको सक्रिय उपस्थिति र अभिव्यक्तिले उनीहरुको नियतमाथि नै प्रश्न उब्जिएको छ । नेपाल सरकारले यो दिवस मनाउन जरुरी नभएको निष्कर्ष निकालेका बेला उनीहरु सरकारकै विरुद्धमा रहेको स्पष्ट हुन्छ । सरकारी कर्मचारीले सरकारको नीति विरुद्धका गतिविधिमा संलग्न हुन वा अभिव्यक्ति दिनु कति उपयुक्त हुन्छ त्यो यहाँ भनिरहनु पर्दैन । कुनै व्यक्ति विशेष, राजनीतिक वा गैर राजनीतिक संगठनले सरकारको नीति विपरितको कार्यक्रम गर्नु र त्यसमा सरकारी अधिकारीको उपस्थिति हुनु गम्भीर विषय हो । सामान्य कार्यक्रममा ‘दलाई लामा’ को तस्वीर हटाएपछि मात्र आफूहरु सहभागि हुने गरेका नेपाली अधिकारीहरु यस्तो कार्यक्रममा सक्रियपूर्वक सहभागि हुनुले उनीहरुको नियतमाथि प्रश्न उब्जिएको छ । उनीहरुलाई पृथ्वीनारायण शाहले गरेको एकीकरण अन्यायपूर्ण थियो भन्ने थाहा नभएको पनि होइन ।
एनआरएन अमेरिकाले आयोजना गरेको उक्त कार्यक्रममा अमेरिकाकालागि नेपाली राजदुत डा. अर्जुन कार्कीको प्रमुख आतिथ्यता हुने भनिए पनि उनको उपस्थिति नहुनु र नेपाली महावाणिज्य दुतावासका अधिकारीको उपस्थिति हुने आफैमा संयोगमात्र हुन सक्दैन ।
गैर आवासीय नेपाली संघ अमेरिकालाई यो कार्यक्रम नगर्नका लागि नेपाली डायस्पोराका विभिन्न संघ संगठनले आग्रह नगरेका पनि होइनन् । उनीहरुले यस्तो राजनीतिक चरित्रको कार्यक्रमले नेपाली डायस्पोरालाई विभाजित बनाउने भन्दै पत्रकार सम्मेलन नै गरी उक्त निर्णय फिर्ता लिन आग्रह गरे । तर एनआरएन अमेरिकाले त्यसको कुनै वास्ता गरेन र एकता दिवसको नाममा नेपाली डायस्पोरालाई विभाजित गरायो । गैर आवासीय नेपालीहरुको अधिकार रक्षा, मातृ भूमि नेपालप्रतिको दायित्व र प्रवासमा रहेका नेपाली एवं नेपालीभाषीबीचको एकताका लागि खुलेको र संगठित भएको संस्थालाई यसरी विवादित बनाउने वर्तमान नेतृत्वले आत्मालोचना गर्नु पर्ने माग भईरहेको छ । यसको साटो एनआरएन अमेरिकाले साच्चिकै नेपाली डायस्पोरालाई एकताबद्ध बनाएर अभि बढ्ने हो भने एनआरएन दिवस वा अन्य कुनै राष्ट्रिय पर्वलाई एकता दिवसको रुपमा मनाउन कसले रोकेको छ । जुन विषय विवादित छ र यसले नेपाली डायस्पोरालाई विवादित मात्र होइन एनआरएनएको विधानकै खिल्लि उडाउँछ भन्ने जान्दा जान्दै यस्तो कार्यक्रम आयोजना गर्ने नेतृत्वको नियत नै गलत भएको प्रष्ट छ । त्यसैले गैर आवासी नेपाली संघ जस्तो विशुद्ध गैर राजनीतिक चरित्र भएको संस्थालाई प्रवासमा रहेका सम्पूर्ण नेपालीको साझा संस्थाको रुपमा अघि बढाउन यस्ता गतिविधिलाई तत्काल रोक्नु पर्छ ।
पृथ्वीनारायण शाह
तात्कालीन गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले निश्चित संख्यामा छिन्नभिन्न सांस्कृतिक पहिचान भएका जनताको कत्लेआम, स्थानीय संस्कृतिको निषेध गरी आफ्नो संस्कृति जर्बरजस्ती लाद्दै र आफूभन्दा भिन्न संस्कृति भएकाहरुको शोषण र उत्पीडन गरी जवरजस्ती एकताको सूत्रमा बाँधेको उनीहरुको तर्क छ । त्यस्तै उनी एक शासक थिए उनले ठिक गरे वा बेठिक गरे त्यो अझै पनि बहसकै विषय छ । यद्यपी उनले ल्याएको परिणाम सहि नै भए पनि त्यसका लागि उनले कुन प्रक्रिया अपनाए भन्ने विषय सधै ओझेलमा परेको छ । ‘इतिहास जित्नेहरुको लेखिन्छ’ भन्ने शाश्वत सत्यलाई आत्मसाथ गर्ने हो भने पनि यो प्रष्ट हुन्छ कि त्यतिबेलाको गोरखा राज्य विस्तार गर्न र टिकाउन लडाई, हत्या, विरोधीहरुको शोषण, दमन र उत्पीडनलाई हतियार बनाए अनि २४० वर्ष सम्म निरन्तर शासन गरिरहे अनि आफूलाई देवत्वकरण गर्दै उहिं इतिहास जवरजस्त घोकाईरहे । त्यसैले पृथ्वीनारायण शाहलाई न त देवत्वकरण गर्नु जरुरी छ न त उनलाई राक्षशीकरण गर्नु नै । हरेक परिवर्तनमा एउटा पक्ष पराजित हुन्छ तर त्यो पक्षमाथि कुन हदसम्मको अन्याय भएको थियो भन्ने भुल्नु हुँदैन । संसारभरका शासकले गर्ने प्रक्रिया उस्तै हुन सक्छ । त्यसैले पृथ्वीनारायण शाह एक शासक थिए र उनले सुरु गरेको जहानिया शासन निरन्तर २४० वर्ष चल्यो । अव त्यो मात्र इतिहास हो, त्यसैले इतिहासको पानामा सिमित गर्नु नै उत्तम हुनेछ ।
sth.gokul@gmail.com