कला-साहित्य

फेसबुककी अपरिचिता

प्रिय ..अपरिचिता !
सुन्दर शरीरमा
सुन्दर वस्त्र र आभूषणसहित
जब तिमी मेरो आँखा अगाडि आयौ
म त मदहोश भएछु
असीम सुखानुभूतिले !
आँखाहरु अनायासै लोलाए छन्
जब मैले देखेँ
अरमानका अनगिन्ती झलकहरु !
प्रिय ..!
मन खाली हुँदा पो
आकाश शून्य शून्य लाग्दो रहेछ
अब त म त्यहाँ देखिरहेछु
लाखौं लाख ईन्द्र धनुषहरु !
प्रिय ..!
तृप्तिको सागर नदेख्दासम्म न रहेछ
जीवन मरुभूमि जस्तै भान हुने !
अब त म धर्तीभरि देखिरहेछु
लाखौं लाख फूलहरु !
प्रिय ..!
हृदयको तार झंकृत नभएसम्म न रहेछ
जीवनरुपी संगीतमा मीठास आउँदै नआउने !
अब त यी ओंठहरु सुशेल्न लाग्दैछन्
लाखौं लाख गीतहरु !
प्रिय ..!
तिम्रो सौन्दर्यपानले म परितृप्त भएँ ।
परितृप्तिको अर्को नाम नै ईश्वर हो
तिमीमा मैले ईश्वर पाएँ
तिम्रो सुन्दर मुहारमा उनलाई देखिरहेछु
तिम्रो मोहक मुस्कानमा उनलाई पाइरहेछु ।

सुनाहांङ लोहारूङ् राई
हालः धनकुटा