विश्व

टर्कीमा रुसी राजदूतको गोली हानी हत्या

एजेन्सी– टर्कीमा रुसी राजदूतको गोली हानी हत्या भएको छ । टर्कीका लागि कार्यरत रुसी राजदूत एन्ड्रे कार्लोफको अंकारास्थित आर्ट ग्यालरीको प्रदर्शनमा भाषण गरिरहेकाबेला हत्या भएकाे हाे । उनले भाषण गरिरहेका बेला २२ बर्षीय एक दंगा प्रहरीले गोली हानी हत्या गरेको बताइएको छ ।
गोली हान्नुअघि ती प्रहरीले सिरिया सरकारलाई रुसले गरिरहेको समर्थनको विरोधमा नारा लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनालगत्तै प्रहरी कारबाहीमा गोली हान्ने दंगा प्रहरी पनि मारिएका छन् । सिरियामा जारी गृहयुद्धमा रुसले सिरियाली राष्ट्रपतिलाई सहयोग गरेको भन्दै रुसविरुद्ध टर्कीमा ब्यापक प्रदर्शन भइरहेकै बेला यो घटना भएको हो । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले रुसका राष्ट्रपति भ्लादिमीर पुटिनलाई घटनाको जानकारी गराउँदै घटनाप्रति खेद व्यक्त गरेका छन् ।  पुटिनले दुई देशबीचको सम्बन्धमा टकरावका लागि घटना गराइएको प्रतिक्रिया दिएका छन् ।
कालो सुट टाईमा सजिएर आएका युवकले फोटो एक्जिबिसनमा सहभागी भई भाषण गरिरहेका राजदूतमाथि गोली प्रहार गरेका थिए । गोली चलाउने क्रममा युवकले अलेप्पोलाई नबिर्स, सिरियालाई नबिर्स भन्दै कराएको आवाज सुनिएको थियो । आक्रमणकारीले इस्लामिक स्टेटले प्रयोग गर्ने शब्द ‘अल्लाह अकबर’ उच्चारण गरेको बीबीसीले लेखेको छ ।
सिरियामा भइरहेको गृहयुद्धमा रसियाले त्यहाँको सरकारलाई सघाउँदै आएको छ । यही कारणले आइएसका विद्रोहीहरु रसियाप्रति आक्रोसित रहँदै आएका छन् । गोली प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।