कला-साहित्य

कविता- 'लाहाँचे'

घर छेउको बकैनाको रूख
टोड्कै टोड्का बनायो लाहाँचेले ठुँगेर ।
ठीक त्यसै गरी
टोड्कै टोड्का भएको छ
मेरो आमाको सपना
अर्थात गोर्खाल्याण्ड ।
सपना ठुँङ्ने अरू कोही नभएर
चुच्चो नभएका बुद्धु नेताहरू हुन्
सुवास, हर्क र बिमल ।
जसको पखेटै छैन
आश्वासनको ललिपप बाँड्न पुग्छ
भोकमरीको सुदुर देशमा
जसको खुट्टामा नङग्रै छैन
त्यही खुट्टाले बिरूवाको हत्या गरेर
मज्जाले बनाउँछ सत्ता जस्तो गुँड
र जसको टाउँकामा चुच्चै छैन
आफैले ठुँगेर धोत्रे बनाएको रूखमा फल देखाएर
भोट हाल्न बाध्य बनाउँछ लाहाँचे ।
प्वाँल पार्न पल्केका यी लाहाँचेहरू
राजनीतिको भुत्ला ओढेर
नाङगोझार बनायो जनतालाई
खोक्रो बनायो गरिबको पेट
खोक्रो बनायो समाज र यो देशलाई ।
लाहाँचे जस्तो नेता त बजिया हुन्
जसले को स्वास्नी, को सासु
को फुपु, को काकी कोही चिनेन
अब जान पर्दैन कसैलाई कुनै खालपाडा ।
किनभने
यी लाहाँचेहरूले घरैभित्र बनायो वेश्यालय ।
हरेक किसानलाई उ रूखको बोक्रा सम्झन्छ
कृषकलाई उ दाउराको चोइटा सम्झन्छ
मजदुरलाई उ घस्यौटा सम्झन्छ
त्यही बोक्रा, चोइटा र घस्यौटाको भोट बटुलेर
सत्तारूपी गुँड बनाउँछ लाहाँचे ।
तिम्रो गुँड यसै कारण सुरक्षित छ कि
बाँच्न बिर्सेका जो कोही
बिर्सेका छैनन् भोटिङ मसिनको स्वीच।
लाहाँचे जस्ता पाखण्डी नेताहरू
जबसम्म बाँच्छ यो देशमा
तबसम्म फूल्ने छैन कुनै हाँगामा सपना
तबसम्म माटै खाएर मर्नुपर्नेछ हली
धानको बालामै सेरिएर मर्नेछ रोपार
र बाँच्नुपर्नेछ प्रत्येक जनता
घस्यौटा जस्तो जिन्दगी ।
जो लाहाँचेको गुँड बनिन मात्र पर्याप्त हुन्छ ।
आखिर 
सिक्स् स्येड्युल ठुँगेरै म¥यो ‘घिसिङ’ लाहाँचे
तिम्रो नी के ग्यारेन्टी
जिल्ला ठुँगेरै मर्छौ कि ‘छेत्री’ लाहाँचे ?
गोर्खाल्याण्ड टोड़कै पारेर मर्छौ कि ‘गुरूङ’ लाहाँचे ?
मर्नु चाहिँ मर्छौ तर
चुच्चोमा किरा परेरै मर्छौ ।
यस्ता लाहाँचेहरू मर्न दिनु
हाम्रो धर्म हो
आऊ चेतनाको क्याटिस लिएर
हान्दिम् सालेहरूको चुच्चै चुच्चोमा ।
आखिर
यै टोड्काल्याण्डभित्र न छ यिनीहरूको गुँड ।
सरी लाहाँचे
तिम्रो मृत्युको कविता लेख्ने कवि छ जो
कायर चुच्चोले ठुँगेर मार्ने आँट नगरे हुन्छ ।
किनभने
तिम्रो चुच्चोले गरेको उपद्रो सार्वजनिक गर्न
म बाँच्न अनिवार्य छ ।

पुकार  पारदर्शी,
कालिम्पोङ्, भारत