विश्व

अष्ट्रियाको राष्ट्रपतिमा अलेक्जेन्डर निर्वाचित

एजेन्सी– अष्ट्रियाको राष्ट्रपतिमा अलेक्जेन्डर भान डेर बेल्लेन निर्वाचित भएका छन्। वामपन्थी झुकाव राख्ने बेल्लेन राष्ट्रपतिमा निर्वाचित भएसँगै युरोपमा पपुलिस्ट पार्टीको तरंग तत्कालका लागि रोकिएको विश्लेषण गरिएको छ।

७२ वर्षीय बेल्लेन अवकाशप्राप्त अर्थशास्त्रका प्राध्यापक हुन्। उनले दक्षिणपन्थी उम्मेदवार नर्बट होफेरलाई पराजित गरेका हुन्। ग्रिन पार्टीका लागि १८ वर्षसम्म सांसद रहेका बेल्लेनले हालको चुनावमा स्वतन्त्र उम्मेदवारी बनाएका थिए। गत मे मा भएको चुनावमा आप्रवासनविरोधी फ्रिडम पार्टीका होफेरले झिनो अन्तरले नतिजा आफ्नो पक्षमा पारेका थिए। कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरे सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई उम्मेदवारबीच निर्वाचन हुने प्रावधानअनुसार मे महिनामा दोस्रो चरणको निर्वाचन गरिएको थियो। तर उक्त निर्वाचन विवादित भएपछि त्यसलाई खारेज गरेर डिसेम्बर ४ मा पुनः निर्वाचन गरिएको हो।

पछिल्लो चरणको निर्वाचन होफेरले जिते ‘ब्रेक्जिटु कै बाटो समात्ने आरोप बेल्लेनले लगाएका थिए। उनले भनेका थिए, ‘म युरोप पक्षधर राष्ट्रपति हुनेछु।’ पहिले ब्रेक्जिट र पछि अमेरिकामा डोनाल्ड ट्रम्पको निर्वाचनसँगै अष्ट्रियामा पनि दक्षिणपन्थी पपुलिस्ट पार्टीले विजय प्राप्त गर्ने आशंकाबीच भएको निर्वाचनमा अष्ट्रियाली जनताले ५३ प्रतिशतभन्दा बढी मत दिएर अस्थायी रुपमा भए पनि पपुलिस्ट प्रवाहलाई रोकिदिएको विश्लेषण गर्न थालिएको छ।

२० मंसिर २०७३ ।