न्युयोर्क

राजेश पायल राईले नचाए न्यूयोर्कका नेपालीलाई

न्यूयोर्क । नेपालका चर्चित गायक राजेश पायल राईको एक सांगीतिक कार्यक्रम भव्य बनेको छ । नोभेम्बर १९ मा आई लाईन क्रियसले आयोजना गरेको ‘राजेशपायल राई लाइभ इन न्यूयोर्क साँझ’ मा उनले न्यूयोर्कका नेपालीलाई भरपुर सांगीतिक मनोरञ्जन दिएका हुन् । 
नेपाली संगीत क्षेत्रका मेगा स्टार राईको फरक शैलीले न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेस (ढाका क्लव) हल घन्कीएको थियो । ‘नो आसन, नो भाषण’ को नयाँ अभ्यासले कार्यक्रमलाई निकै आकर्षक बनाएको थियो । विगतका कार्यक्रमहरुमा मूल विषयभन्दा आसन र भाषणमै पट्यारलाग्दो समय खर्चिन बाध्य भएका दर्शकलाई यो फरक शैलीले थप मनोरञ्जन दिएको थियो । 
‘नाई नभन्नु ल–२’ को शिर्ष गीतबाट कार्यक्रम सुरु गरेका राईले ‘तिमीले बाटो फेर्यौ अरे’, ‘म त मर्छु कि क्या हो ठूली’, ‘सिरै फुल्यो’, ‘दित्तेल बजार’, ‘धरान धनकुटा’, ‘मोहनी लाग्ला है’, ‘दर्शन नमस्ते’ र पछिल्लो एल्बम ‘दर्शन नमस्ते–३’ का शिर्ष गीत लगायत लगभग ३५ वटा लोकप्रिय गीतहरु गाएका थिए । त्यस्तै ‘सागर सरी चोखो माया’ मा एन्जिला राईले साथ दिएकी थिइन् । 
प्रशान एलुङ् राईको नेतृत्वमा रहेको आई लाईन क्रियसनले आयोजना गरेको यो फरक शैलीको सांगीतिक कार्यक्रमप्रति दर्शकहरुले सकारात्मक चर्चा गर्दै अन्य कार्यक्रमहरुमा पनि यस्तै शैली अपनाउनु पर्ने बताएका थिए । आई लाईन क्रियसनले ईभेन्ट व्यवस्थापनसँगै भिडियो एवं ग्राफिक्स डिजाईनिङको का मगर्दै आएको छ । 
सन् २०१४ मा अमेरिकामा पहिलो पटक आफ्नो एकल सांगितिक यात्रामा निस्केका गायक राईले न्यूयोर्क, डिसि, टेनेसी, पेन्सेल्भानिया र नर्थ डाकोटा लगायतमा ११ वटा शोहरु गरेर रेकर्ड कायम गरेका थिए । ‘फैलियो माया दुबो सरी’, ‘सागर सरी चोखो माया’, ’दर्शन नमस्ते’ जस्ता दर्जनौं लोकप्रिय गीतहरुका बहुचर्चित गायक राजेश पायल राईले झण्डै ५ हजार गीतहरु गाईसकेका छन् भने ५ सयभन्दा बेशी नेपाली चलचित्रहरुमा गाईसकेकाछन् । नेपाली चलचित्रको संख्या झण्डै ९ सय रहेको छ र गायक राईले झण्डै ६० प्रतिशत चलचित्रमा गाउन सफल भएकाछन् । राई आधुनिक, लोक पप, फ्यूजनलगायत बिबिध गायन पक्षमा गीत गाउन सक्ने भर्साटाइल क्षमता गायक हुन् ।