विश्व

कम्युनिष्ट क्रान्तिका नायक फिडेल कास्ट्रोको निधन

हवाना (क्युवा) एजेन्सी– कम्युनिष्ट क्रान्तिकार नायक क्यूवाली पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको निधन भएको छ । क्युवाका पूर्व राष्ट्रपति तथा राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व कास्ट्रोको ९० वर्षको उमेरमा शुक्रबार राति निधन भएको हो ।

फिडेलका भाइ तथा वर्तमान राष्ट्रपति राउल कास्ट्रोले क्युवाको राष्ट्रिय टेलिभिजनमार्फत पूर्व राष्ट्रपतिको निधन भएको खवर शनिबार सार्वजनिक गरेका हुन् । क्युवाको क्रान्तिका सर्वोच्च कमाण्डर कास्ट्रोको शुक्रबार राती ११ बजेर २९ मिनेटमा निधन भएको राउलले जानकारी दिए ।


पाँच दशक फिडेलको एकछत्र राज
कम्युनिष्ट नेता फिडेल कास्ट्रोले करिव ५० वर्षसम्म क्यूवामा एकछत्र राज गरे । ५०वर्षको दौरानमा क्यूवामा उनलाई चुनौती दिने कुनै दोस्रो पार्टी थिएन । विश्वमै कम्युनिष्ट शासन ढलिरहेकाबेला उनी क्यूवामा कम्युनिष्ट स्थापना गरेका थिए । फिडेल कास्ट्रोले सबैभन्दा ठूलो दुश्मन संयुक्त राज्य अमेरिकाको खुलेआम आलोचना मात्र गरेनन्, लालझण्डा कहिल्यै झुक्न दिएनन् । कास्ट्रोका समर्थक उनलाई समाजवादका प्रवर्तक तथा एक सैन्य राजनीतिकज्ञका रुपमा मान्छन्, जसले आफ्नो जनताका लागि क्यूवालाई स्वतन्त्र गराए ।
आलोचकहरुका अनुसार क्रास्ट्रोले क्रुर तरिकाले आफ्ना विरोधीहरुलाई नियन्त्रणमा लिनुका साथै खराब आर्थिक नीतिका कारण क्यूवाको अर्थब्यवस्थालाई अपाङ्ग बनाइदिए । क्रास्ट्रोको जन्म सन् १९२६ अगस्त १३ मा एक धनी किसानको घरमा भएको थियो । उनकी आमा लिना रुज, जो आफ्नो बुवाको सेविका थिइन् । क्रास्ट्रोको जन्मपछि मात्रै उनका बाबुले लिनासँग विवाह गरेका थिए । सेन्टियागोको क्याथोलिक विद्यालयमा कास्ट्रोले विद्यालय तहको अध्ययन पूरा गरे । त्यसपछिको पढाइ पूरा गर्न उनी हवाना गए ।
सन् १९४० को दशकको मध्यमा हवाना विश्वविद्यालयबाट पढाइ सकेपछि कास्ट्रो राजनीतिक कार्यकर्ता बने । उनी राजनीतिमा लागेपछि छिट्टै नै सार्वजनिक वक्ताको रुपमा आफ्नो पहिचान बनाए । उनको भाषण सुन्न आनन्द लाग्थ्यो ।


धनीकी छोरीसँग विवाह
सक्रिय  राजनीतिमा आएपछि कास्ट्रोले क्यूबा सरकारमाथि आफ्नो निशाना बनाए । त्यसबेला राष्ट्रपति रेमनको सरकारमाथि भ्रष्टाचारको गम्भीर आरोप लागेको थियो । कास्ट्रोले आफ्नो भाषणमा सरकारको निकै आलोचना गरे । जुन क्यूवामा हिंस्रक प्रदर्शन थियो । उक्त आन्दोलनमा प्रहरीले कास्ट्रोलाई निशाना बनाउन शुरु गर्यो । कास्ट्रो डोमिनिकन गणराज्यको दक्षिणपन्थी नेताको विरुद्धमा थिए । उनले दक्षिणपन्थी नेता राफेल ट्रुजिलोको सत्ता ढाल्ने प्रयास गरे । तर अमेरिकी हस्तक्षेपका कारण उक्त प्रयास सफल हुन सकेन । सन् १९४८ मा कास्ट्रोले क्यूबाको एक धनी नेताको छोरी मिर्ता डियाज बालार्टसँग विवाह गरे । त्यतिबेला कास्ट्रो सामन्ती वर्गमा सामेल भएको क्यूबामा चर्चा चल्यो । तर कास्ट्रो कुलिन वर्गमा रुपान्तरण भएनन्, बरु विवाहपछि कास्ट्रोले झनै बढी माक्र्सवादी भए । क्यूबामा आर्थिक समस्याको एक मात्रै कारण जबर्जस्त लादिएको पूँजिवाद नै भएको कास्ट्रोको दाबी थियो । पूँजिवादको अन्त्य जनक्रान्तिद्वारा मात्रै सम्भव रहेको कास्ट्रो बताउँथे ।
स्नातकसम्मको पढाइ पूरा गरेपछि कास्ट्रोले वकिलको काम गर्ने प्रयास पनि गरे । तर उनी त्यसक्षेत्रमा सफल हुन सकेनन् । उनले आफ्नो टाउकोमा नागरिकको ऋण थपिएको महशुस गरे । त्यस दौरानमा पनि उनले आफ्नो राजनीतिक सक्रियता कायमै राखे । उनी सबै हिंस्रक प्रदर्शनमा सहभागी हुन्थे ।
सन् १९५२ मा क्यूवबाका तानाशाह फुल्खेन्सियो बाटिस्टाले देशमा सैन्य विद्रोह गरेपछि क्यूबाका राष्ट्रपति कार्लोस प्रियोले सत्ता छाड्नु पर्यो । बाटिस्टाको अमेरिकासँग घनिष्ट सम्बन्ध थियो । उनले समाजवादी आन्दोलनको दमन गर्न शुरु गरेका थिए । यो स्थिति कास्ट्रोको मौलिक राजनीतिक मान्यताको ठीक विपरीत थियो । यही चुनौतीका लागि कास्ट्रोले एक संस्था बनाए, जसको नाम ‘द मूभमेन्ट’ थियो । उक्त संस्थाले बाटिस्टाको सत्ता ढाल्ने गरी भूमिगतरुपमा काम शुरु ग¥यो ।
 

सैनिक ब्यारेकमाथि पहिलो सशस्त्र हमला असफल
त्यही क्रममा सन् १९५३ जुलाइमा कास्ट्रोले सान्टियागोसँग जोडिएको मोङकाडाको सैनिक ब्यारेकमाथि सशस्त्र हमला गरे । उक्त विद्रोहको उद्देश्य हतियार कब्जा गर्ने थियो । तर उक्त योजना विफल भइ क्रान्तिकारीहरु मारिए । कास्ट्रोलाई १५ वर्षको सजाय सुनाइयो । तर १९ महिनाको सजायपछि कास्ट्रोलाई रिहा गरियो ।
जेलमा आफ्नो सजायको दौरानमा कास्ट्रोले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका थिए र दिनरात माक्र्सवादी साहित्यमा डुबिरहेका थिए । बाटिस्टाले आफ्ना विद्रोहीहरुमाथिको कारबाही जारी राखेका थिए । त्यसक्रममा पक्राउ पर्नबाट जोगिनकैलागि कास्ट्रो क्यूबा छाडेर मोक्सिको गए । मेक्सिकोमा नै उनको परिचय नामूद क्रान्तिकारी चे ग्वेरासँग हुन पुग्यो ।  
सन् १९५६ मा कास्ट्रो सशस्त्र साथीहरुका साथ क्यूबा फर्किए तथा सन् १९५९ मा क्यूबाका तानाशाह बाटिस्टालाई सत्ताबाट हटाएर फिडेल कास्ट्रोले क्यूबामा कम्युनिष्ट सत्ता काम गरेका थिए । फिडेल कास्ट्रो संसारका श्रमजीवी जनताका मित्र, साम्राज्यबाद बिरुद्धको विश्व आन्दोलनका नायक रहेर बिसौं शताब्दीमा कुनै न कुनै रुपमा चर्चाको शिखरमा रहेर दक्षिण अमेरिकी स्वतन्त्रता आन्दोलनका नायक बन्न पुगेका थिए ।
 

अमेरिकासँग कहिल्यै झुकेनन्
अमेरिकी धेरै राष्ट्रपति कास्ट्रोलाई पदबाट हटाउन कसरत तर कसैले सकेनन् । कास्ट्रोले दश अमेरिकी राष्ट्रपतिलाई सामना गरे तर क्युवालाई अमेरिकी प्रशासनसँग कहिल्लै झुकेको देख्न चाहेनन् । गत वर्षमात्रै अमेरिकी राष्ट्रपति बाराक ओबामाले क्यूबा गएर समाजवाद छाडेर पूँजिवादतर्फ लाग्न सुझाव दिएका थिए । तर फिडेलले ओबामा क्युवामा गएर दिएको सुझावप्रति व्यङग्य गर्दै लामो पत्र लेखी अमेरिकी राष्ट्रपति ओबामालाई पठाएका थिए । क्युवाली जनतालाई फरक सोँच र विचारका साथ अघि बढ्न गरेको आग्रहप्रति आक्रोश व्यक्त गर्दै १५ पेज लामो उक्त पत्रमा अमेरिकाले क्युवालाई कुनै पाठ सिकाउनु नपर्ने जनाएका थिए ।
फिडेलको निधनप्रति रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलाण्डे, पूर्व सोभियत संघका नेता मिखाइल गोर्भाचेभ, भेनेजुयलाका राष्ट्रपति निकोलास माधुरो लगायतले शोक ब्यक्त गरेका छन् । पूर्व राष्ट्रपति कास्ट्रोको निधनमा क्यूवाले दश दिनसम्म शोक मनाउने निर्णय गरेको छ । कास्ट्रोको अन्त्येष्टी डिसेम्वर ४ तारिखमा गरिने क्युवाली सरकारले जनाएको छ ।