विश्व

कानपुर रेल दुर्घटनाः १ सय २८ काे मृत्यु

भारत (एजेन्सी)– भारतको कानपुरमा आइतबार विहान भएको रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या १ सय २८ पुगेको छ । पटना–इन्दौर एक्सप्रेसको रेल आइतबार बिहान कानपुरबाट ६० किलोमिटरको दूरीमा रहेको पोखरायांमा दुर्घटना भएको थियो । इन्दौरबाट पटनाका लागि छुटेको रेलको १४ वटा डिब्बा लिकबाट उछुट्टिएर दुर्घटना भएको हो । 

त्यसमध्ये चारवटा डिब्बामा बढी क्षति भएको छ । अहिले पनि अन्तिम चरणको उद्धारको काम भइरहेको छ । अझै केही मानिस फसेको हुन सक्ने आशंका गरिएको छ । दुर्घटनामा घाइते भएका दुई सय भन्दा धेरैलाई अस्पताल भर्ना गरिएको छ । सेनाका ९० जना उद्धारकर्मी, पाँच चिकित्सकसहितको ५० सदस्य रहेको स्वास्थ्य टिम रातभरी उद्धारमा घटिएको समाचार संस्था पिटिआईले जनाएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई दुई लाख तथा उत्तर प्रदेशका मुख्यमन्त्री अघिलेस यादवले पाँच लाखका दरले राहत दिने घोषणा गरेका छन् । यस्तै उत्तर प्रदेश सरकारले गम्भीर घाइतेलाई ५० हजार तथा सामान्य घाइतेलाई २५ हजारका दरले सहयोग गर्ने बताएको छ । 

यसैगरी रेलमन्त्री सुरेश प्रभुले ज्यान गुमाएकाका परिवारलाई साढे तीन लाखका दरले सहयोग गर्ने बताउनुभएको छ । मध्ये प्रदेश सरकारले ज्यान गुमाएकाका परिवारलाई दुई लाख तथा घाइतेलाई ५० हजार दिने घोषणा गरेको छ ।
यस्तै बिहारका मुख्यमन्त्री नीतीश कुमारले दुर्घटनामा ज्यान गुमाएका बिहारका व्यक्तिका परिवारलाई दुई लाख तथा घाइतेलाई ५० हजारका दरले सहयोग गर्ने बताउनुभएको छ । कानपुर रेल दुर्घटना भारतमा भएका ठूलो रेल दुर्घटना मध्ये एक हो । 

६ मंसिर २०७३ ।